बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजयी

प्रज्जवल थापा । फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमाको दुई गोलको सहयोगमा स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमाले दुई र मार्को एसेन्सियोले एक गोल गरे । भिगोको लागि सान्टी मिनाले गरेको गोल सान्त्वनामा सिमित रह्यो । २० औं मिनेटमा टोनी क्रुसको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । ३० औं मिनेटमा क्रुसकै पासमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

४० औं मिनेटमा डेनिस स्वारेजको पासमा सान्टी मिनाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर दोस्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा बेन्जिमाको पासमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मार्को एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको जित दिलाए ।

जितसँगै म्याड्रिड २८ खेलमा ६० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिड ६३ अङ्कको साथ शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *