४० वर्षदेखि भारतको जेलमा थुनिएका दीपक जैसी रिहा

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई शनिवार रिहा गरिएको छ । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो ।

उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो । प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो । दीपकलाई रिहा गर्न अदालतले आदेश दिएपनि उनको मुद्दा किनारा लागिसकेको छैन । तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो।

त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिवार रिहा भएका हुन् । उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जीलिङ वा कोलकाता उच्च अदालतलाई छ–छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ । दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए ।

तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन् । त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ । उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए ।

त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका काकाका छोरा प्रकाशचन्द्रले बताएका थिए । उनलाई बिना सुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *