सुनुवाइसमेत नभई ४१ वर्षदेखि भारतीय जेलमा बसेका नेपाली आज स्वदेश फर्कंदै

कोलकत्ता (भारत) । कसुर प्रमाणित नभईकन ४१ वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले आज खुला आकाश देख्दै छन् । पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त हुँदै छन् ।

दुर्गाप्रसादविरुद्ध सन् १९८० मा दार्जिलिङ पुलिसमा हत्या आरोपको जाहेरी परेको थियो । दार्जिलिङका नैन घलेले आफ्नी श्रीमतीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए । जेल पर्दा २० वर्षका दुर्गाप्रसाद अहिले ६१ वर्षका भएका छन् ।

३९ वर्षसम्म उनीविरुद्धको मुद्दामा सुनुवाइ नै भएन, कसुर प्रमाणित नभईकनै दुर्गाप्रसादले जीवनका महत्वपूर्ण समय भारतीय जेलमा बिताउनुप¥यो । सुरुमा दार्जिलिङ, त्यसपछि अलिपुर हुँदै पछिल्लो १४ वर्षदेखि उनलाई कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ राखिएको थियो । कारागारमा उनलाई दीपक जैसीका नामले राखिएको छ । उनलाई घरमा बोलाउने नाम दीपक थियो ।

मरे–बाँचेको पत्तो नभएका दुर्गाप्रसाद कोलकातास्थित कारागारमा रहेको जानकारी परिवारले केही महिनाअघि मात्रै पाएको थियो । गत १० फागुनमा भाइ (काकाको छोरा) प्रकाशचन्द्र तिम्सिनाले उनलाई कारागारमै गएर भेटेका थिए । उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी. राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार दुर्गाप्रसादलाई छाड्ने आदेश दिएका थिए । तर, केही कागजी प्रक्रिया बाँकी थिए ।

शुक्रबार भाइ प्रकाशचन्द्रले अदालतको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘आज (शुक्रबार) नै छुट्ने भन्ने थियो । तर, अदालतमा कागज मिलाउँदा समय लाग्यो,’ दाइलाई लिन कोलकातामै रहेका प्रकाशचन्द्रले भने, ‘मैले सम्झौता पेपरमा हस्ताक्षर गरेको छु ।’

दाइलाई छुटाएर घर लैजान प्रकाशचन्द्र निकै उत्साहसहित कोलकाता आएका थिए । तर, अदालतको आदेशले उनलाई केही निराश बनाएको छ । किनभने उच्च अदालतले दुर्गाप्रसादको दिमागी हालत ठीक नभएकाले छाडेको बताएको छ । उनको मुद्दा किनारा लागेको छैन । कोलकातास्थित महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा उनको अवस्थाबारे जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

दिमागी हालत ठीक नभएसम्म दुर्गाप्रसादले घरमा बस्ने सुविधा पाउनेछन् । त्यतिवेलासम्म उनको कुनै मुद्दा–प्रक्रिया अघि नबढ्ने दुर्गाप्रसादको तर्फबाट मुद्दा लडिरहेका वकिल हीरक सिन्हाले बताए । ‘उनको दिमाग नौ वर्षको बालकको जस्तो छ । आफ्नो, बुबा–आमाको र आफूले पढेको स्कुलको नाम मात्र भन्न सक्छन्,’ शुक्रबार उच्च अदालत परिसरमा सिन्हाले भने, ‘यहाँ (कोलकातामा) रहेको महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा दीपक (दुर्गाप्रसाद)को अवस्था जानकारी गराउनुपर्छ । उनको दिमागी अवस्थाबारे डाक्टरको रिपोर्ट आएपछि मात्र मुद्दा अघि बढ्छ ।’

कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार मुद्दाको सुनुवाइ नै नगरी चार दशकसम्म जेलमा राख्दा उनलाई परेको मानसिक, शारीरिक असर र समग्र जीवनको क्षतिपूर्ति माग–दाबी गरी भारतको सर्वोच्च अदालतमा मुद्दामा जान सकिने राय वकिलहरूले दिएका छन् ।

यसरी पत्ता लागे दुर्गाप्रसाद, निःशुल्क बहस गरे वकिलले

केही समय दुर्गाप्रसादसँगै जेलमा बसेका राधेश्याम दासले उनको कुरा बाहिर ल्याएका हुन् । कोलकाताका लागि नेपालका महावाणिज्यदुत ईश्वरराज पौडेलका अनुसार उनी राजनीतिक बन्दी हुन् ।

जेलबाट छुटेपछि केही महिनाअघि दासले वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादका बारेमा बताएका थिए । क्लबले अधिवक्ता हीरक सिन्हालाई जानकारी गरायो ।

अधिवक्ता सिन्हाले सन् २०२० को नोभेम्बरमा जेलमै पुगेर दुर्गाप्रसादलाई भेटे । ‘एउटा व्यक्ति ४१ वर्षदेखि जेलमा छ, उसको सुनुवाइ भएको छैन भनेर राधेश्यामले भनेपछि म जेलमा पुगेँ । त्यतिखेर उनी शारीरिक रूपमा ठीक थिए । मानसिक रूपमा बिरामी देखिन्थे,’ सिन्हाले भने, ‘मैले अलिअलि नेपाली जानेको थिएँ । नेपालीमा दाजु राम्रो छ भनेर सोधेँ । सकारात्मक भएर उहाँले ठीक छु भने । घर कहाँ हो भन्दा इलाम चियाबगान भन्ने ठाउँमा भने । बुबाआमाको नाम र स्कुलको नाम डायरीमा लेखे ।’

त्यसपछि सिन्हाले दुर्गाप्रसादको मुद्दा आफैँ हेर्न थाले । उनीहरूकै पहलमा नेपालस्थित आफन्तको खोजी गरिएको थियो । हीरकसहित वकिल मालायी भट्टाचार्य, सूर्यज्योति घोष र स्वेकाट बेनर्जीको टिमले निःशुल्क मुद्दालाई हेरिरहेको छ । ‘एउटा व्यक्ति विनासुनुवाइ ४१ वर्ष जेल परेको छ । मानवीयताका नाताले हामीले यो मुद्दा हे¥यौँ,’ अधिवक्ता सिन्हाले भने, ‘उहाँ छुट्दै हुनुहुन्छ । धेरै खुसी छौँ ।’

रेडियो क्लबका मानिसहरूले नेपाली महावाणिज्य दूतावासमा पनि खबर गरेका थिए । ‘त्यहीबीचमा मिडियामा दुर्गाप्रसादबारे समाचार पनि आयो । दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि चासो राख्नुभयो । त्यसपछि यस विषयलाई हेर्न हामीले दूतावासका कर्मचारी सतिश थापालाई पूर्ण रूपमा यही काममा लगायौँ । यो विषय बाहिर आएको तीन–चार महिनामा हामीले उनलाई जेलबाट निकाल्न सफल भएका छौँ,’ महावाणिज्यदूत पौडेलले भने ।

यसरी परेका थिए जेल

आफ्नी पत्नी जनु गुरुङको हत्या गरेको भन्दै दार्जिलिङका नैन घलेले सन् १९८० मा दुर्गाप्रसादविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दुर्गाप्रसादलाई पक्राउ गरेको थियो ।

‘मेरो श्रीमती जंगलमा दाउरा खोज्न गएको थियो । गाउँलेले भने– तेरो स्वास्नीलाई जंगलमा कुनै मानिसले हत्या गरिराखेको छ । यो सुन्नसाथ म घटनास्थलमा गएँ । श्रीमतीलाई चिनेँ । उसको शरीर नांगै थियो, टाउको र देब्रे हात छिनिएको थियो,’ जाहेरीमा भनिएको छ, ‘यो विषयमा सोधपुछ गर्दा गाउँमा इलाम बस्ने नेपाली केटो आएको थियो । त्यसको उमेर करिब २०–२२ को हुनुपर्छ । कालो वर्णको, कोठे पाइन्ट र खैरो रंगको पुरानो ज्याकेट लगाएको, बिहान करिब ८–९ बजेतिर गाउँमा आएको रहेछ । त्यो केटोले आफ्नो नाम दीपक जैसी भनेको थियो ।’

तर, प्रहरीमा जाहेरी दिएपछि नैन घले कुनै अड्डा–अदालतमा नगएको दाबी प्रकाशचन्द्रको छ । जाहेरी नै फर्जी रहेको उनको भनाइ छ । ‘जाहेरीपछि नैन घले कतै फलोअप गर्न गएको देखिँदैन । त्यसकारण पनि यो आरोप फर्जी हो,’ उनले भने । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *