कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन गरिएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले पत्रकार सम्मेलन गरी फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा लकडाउनको घोषणा गरेका हुन् । उनले यहाँका बढी प्रभाावित विभिन्न १६ वटा राज्यमा यस्तो नियमको घोषणा गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए ।

तर प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् । पहिलेका लकडाउनमा यहाँ एक किसिमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ ।

कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो । पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् ।

यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्काेमा जान यात्रा प्रतिबन्ध गरिएको छ । विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्ण रुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ ।

उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् ।

गएको २४ घन्टायताको अर्थात् बिहीबार मात्रको तथ्यांकमा यहाँका ३५ हजार जनामा यो संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको निधन भएको छ ।

यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *