USAID

कमल पोखरीको चैत मसान्तसम्ममा पुनर्निर्माण सम्पन्न हुने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुनर्निर्माण चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी काम गरिरहेको जानकारी दिएको छ । महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले केही दिनमा पोखरीमा टनाटन पानी भर्ने बताए ।

उनले भने, ‘पोखरी पुनर्निर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । अबको केही दिनमै हामी पोखरीमा साढे २ करोड लिटर पानी भर्ने तयारीमा छौँ ।’ पानीको दिगो स्रोतका लागि पोखरीमा जम्मा हुने प्रणाली विकास गरेको र बाहिरी र प्राकृतिक गरी दुवै प्रकारका स्रोतको पानीले पोखरीमा पानीको सतह सधैँ एकनास कायम गराउने उनले बताए ।

उनले भने, ‘कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भन्ने हल्लाले समाजमा भ्रम सिर्जना भयो । म यसको विरोध गर्नेहरुलाई आग्रह गर्न चाहन्छु । आउनोस्, हामी तपाईंलाई डिजाइन देखाउँछौं । हाम्रो डिजाइनमा कमलपोखरीको ऐतिहासिकता र यसको गरिमा नासिने कुनै पनि संरचना जोडेका छैनौं ।’

पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने ४ वटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी ५ वटा मण्डप रहने उनले जानकारी दिए । ‘पोखरी पुननिर्माण गर्दा पोखरीको आकारमा एक इन्च पनि नमिचिने गरी डिजाइन तयार पारिएको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा पुर्ननिर्माण भैरहेको कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको छ । करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरी पुननिर्माणपछि फेरिएको स्वरुपमा हुनेछ ।

कमलपोखरीमा ९ वटा चैत्य रहनेछन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा ५ वटा मकरधारा निर्माण गरिनेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *