माघमा क्युआर कोडमार्फत एक अर्ब ७१ करोड बढीको कारोवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा ५० करोड बढीको कारोवार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र ४६ करोड ७० लाखभन्दा बढीको कारोवार भएको छ । गत पुसमा एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोवार भएकामा माघमा एक अर्ब ७१ करोड २० लाख बराबरको कारोवार भएको हो ।

गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोवार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोवार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोवार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब बढीको कारोवार भएको छ ।

कनेक्ट आइपिएसमार्फत एक खर्ब चार खर्बको कारोवार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोवार भएको छ ।

उक्त प्रविधिको प्रयोग गरी पुसमा एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोवार भएको थियो । बैंकको तथ्याङ्कअनुसार माघमा मात्र कनेक्ट आइपिएसमार्फत एक खर्ब चार अर्ब ३९ करोडभन्दा बढीको कारोवार भएको छ । सो अवधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आइपिएसको प्रयोग भएको छ ।

माघमा मोबाइल बैंकिङमार्फत ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोवार भएको छ । गत पुसमा ३३ अर्ब १५ करोड तीन लाख बढीको कारोवार भएको छ । माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोवार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत नौ अर्ब २२ करोड ७० लाख बढीको कारोवार भएको छ । माघमा ३१ हजार ४८२ पटक कारोवार भएको छ । वालेटमार्फत पुसमा नौ अर्ब ६५ करोड ६० लाख बराबरको कारोवार भएकामा उक्त रकममा वृद्धि भई माघमा नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोवार भएको छ । एक महीनामा एक करोड ५१ लाख छ हजार पटक कारोवार भएको छ ।

यसैगरी गत पुसमा अनलाइन (इ–कमर्श) बाट ८४ करोड ३० लाख बराबरको कारोवार भएकामा माघमा उक्त रकममा वृद्धि भई ९३ करोड २० लाख बराबरको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *