USAID

काभ्रेको मण्डनदेउपुरमा एक अर्बको खानेपानी आयोजना स्वीकृत

  • 1
    Share

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

यसका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरले ५१ लाख ६६ हजार उपलब्ध गराएको नगरप्रमुख टोकबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ ।

खानेपानी आयोजनाबाट नौ वटा वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् । नगरस्थित ७ नम्बर वडाको सोते र १० नम्बरको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताए ।

“यो लिफ्टिङ प्रविधिको खानेपानी आयोजना हो, यसले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराउनेछ”, उनले भने ।

इन्द्रावती नदीको विभिन्न स्थानबाट लिफ्ट गरिएको खानेपानी नजिकको गाउँ र तेस्रो स्रोतबाट मुख्य ट्याङ्कीमा जम्मा गरी सम्पूर्ण उपभोक्तामा वितरण गर्ने प्रणालीको व्यवस्थापन गर्ने समितिले जनाएको छ । खानेपानी वितरणका लागि मुख्यसहित ३५ ट्याङ्की निर्माण गरिनेछ ।

स्थानीय प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्भवेयर ट्याङकीमा प्रतिसेकेण्ड १३ दशमलव शुन्य पाँच लिटर पानी खस्नेछ । “विनाशकारी भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही वर्षमै खानेपानी अभावबाट उन्मुक्ति पाउनेछन्”, नगरका प्रवक्ता डिल्लीप्रसाद आचार्यले भने ।

काभ्रेपलाञ्चोकस्थित प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले खानेपानी आयोजनाका लागि आवश्यकीय रूपमा पर्याप्त बजेट उपलब्ध गराएको बताए ।

“समयमै आयोजनाको सम्झौता गरेर जनशक्ति तयारीका साथ प्रारम्भ गरी निर्धारित समयमै सम्पन्न गर्नुपर्यो, अब आयोजनालाई बजेटको चिन्ता लिनुपरेन”, उनले भने । उनले मण्डनदेउपुर र पाँचखाल नगरमा बृहत् एकीकृत खानेपानी आयोजना सञ्चालन गरिएकाले एकदुई वर्षमै स्थानीयवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइने बताए ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *