पुलिसलाई मेयर कपको उपाधि

प्रज्जवल थापा । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा पुलिसले नेपाल एपिएफ क्लबलाई ८ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।

१०६ रनको झिनो विजयी लक्ष्य पछ्याएको पुलिसले २४.१ ओभरमा २ विकेटको क्षतिमा ११० रन बनाउदै लक्ष्य भेट्टाएको हो । पुलिसको जितमा सुनिल धमलाले सार्वधिक ५९ रन जोडे । उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै अर्का ओपनर कुशल भुर्तेल र अनिल शाहले समान १५ /१५ रन जोडे । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका दिपेन्द्र सिंह एरी ११ रनमा नटआउट रहे ।

एपीएफको लागि अविनाश बोहोरा र भुवन कार्कीले १/१ विकेट लिए ।

यसअघि किर्तिपुरस्थित टियु क्रिकेट ग्राउण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको एपिएफले २९.४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाएको थियो । पुलिसको बलिङ अगाडि एपिएफको ब्याटिङ फिक्का देखियो । खेलमा एपिएफले गतिलो शुरूवात गर्न सकेन । एपिएफले १० रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । एपिएफको लागि वसन्त रेग्मीले सार्वधिक २२ रन जोडे । यस्तै अमर सिंह रौटेला र सुन्दिप जोराले समान १८/१८ रन जोड्दा भुवन कार्कीले १४ र अविनाश बोहोराले १२ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सान झा र सागर ढकालले ४/४ विकेट लिए । यस्तै पवन सार्फ र ललित राजवङ्शीको नाममापनि एक/एक विकेट रह्यो ।

यससंगै काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ(क्यान)ले आयोजना गरेको पहिलो संस्करणको मेयर कप विजेता नेपाल पुलिस क्लबले नगाद ५ लाख प्राप्त गरेको छ भने उपविजेतामा सिमित एपीएफले ३ लाखमा चित्त बुजायो ।

उपविजेता टोली एपीएफ

तस्बिर:- क्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *