साढे दुई लाख दर्शनार्थीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो । बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला टाउनप्लानिङमा रहेको नागेश्वर महादेव मन्दिरमा पनि आज बिहान ३ बजेदेखि नै भक्तजनका लागि चार ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

बिहानदेखि अहिलेसम्म करिब पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग राजयमाझीले जानकारी दिए । बिहान १० बजेपछि नागेश्वर महादेव मन्दिरमा पनि धेरै भक्तजन दर्शनका लागि लाममा बसेका छन् ।

विसं १८८१ मा सरदार वाक्सिङ मन्दिर स्थापना गरेका हुन् । महाशिवरात्रिका अवसरमा नागेश्वर महादेव मन्दिरमा पनि विशेष पूजासहित चारै प्रहर पूजा आराधना गरिन्छ । नागहरूले मानेको र पूजा आराधना गरेकाले नागेश्वर नाम रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *