चरिकोट । दोलखाको वैत्येश्वर गाउँपालिका–६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका–६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नम्बरको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए ।
यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको सापटक भाँचिएपछि रोकेर यात्रुहरु ओर्लिएका र सोही क्रममा रोकेको बोलेरोमा ओत लगाउँदै गर्दा उक्त बोलेरो गुडेर बद्री थामीलाई किचेको र थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
