सैनिक कू पछि भागेका प्रहरी अधिकारी फर्काउन भारतलाई म्यान्मारको आग्रह

म्यान्मारले सरकारको निर्देशन मान्न अस्वीकार गरेर छिमेकी भारत छिरेका केही प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गरेको छ । भारतीय अधिकारीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन् ।

म्यान्मारका अधिकारीहरूले भारतलाई पठाएको पत्रमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न ती प्रहरी अधिकारीलाई फर्काउन आग्रह गरेका हुन् । म्यान्मारमा गत महिना भएको सैन्य कूपछि विरोध प्रदर्शन र हड्ताल भइरहेका छन् । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूमाथि कडा रवैया अपनाएका छन् र अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको बताइएको छ ।

शनिवार पनि प्रदर्शनकारीहरूले देशभरि नै निषेधाज्ञा उल्लङ्घन गर्दै देशभर विरोधमा उत्रिएका थिए । सबैभन्दा ठूलो शहर याङ्गुनमा प्रहरीले अश्रु ग्यास, रबरका गोली र ग्रिनेडहरू प्रयोग गरेर भिड तितरबितर पारेका विवरणहरूमा जनाइएको छ ।

भारतको मिजोरम प्रान्तको चम्फाइ जिल्लाकी उपआयुक्त सीटी जुआलीले रोयटर्स समाचार संस्थालाई आफूले म्यान्मारको फालम जिल्लाबाट प्रहरी अधिकारीहरूलाई फिर्ता गर्ने अनुरोध गर्दै लेखिएको पत्र प्राप्त गरेको बताएकी छन् ।

पत्रमा करिब आठजना प्रहरी अधिकारी भारत छिरेका म्यान्मारलाई थाहा भएको उल्लेख गरिएको छ । आफूले दिल्लीस्थित गृह मन्त्रालयको निर्देशन कुरिरहेको जुआलीले बताइन् ।

रोयटर्सका अनुसार पछिल्ला दिनमा प्रहरी अधिकारीसहित करिब ३० जनाले सीमा कटेर भारतमा शरण लिन आइपुगेका छन् । शनिवार म्यान्मारका थप मानिसहरू भारत छिर्नका लागि सीमा क्षेत्रमा आइपुगेको भारतीय अधिकारीलाई उदृत गर्दै एएफपी समाचार एजेन्सीले छापेको छ ।

म्यान्मारको सेनाले फेब्रुअरीको शुरूमा जननिर्वाचित नेतृ आङ सान सूकीलाई नियन्त्रणमा लिएर शासन सत्ता हातमा लिएको थियो । त्यसको केही दिनदेखि नै नागरिक अवज्ञा अभियान शुरू भयो, कैयौँ मानिस काममा फर्कन अस्वीकार गरे र सडक प्रदर्शन भइरहेको छ ।

म्यान्मारका सुरक्षा फौजले त्यसप्रति कडा रवैया अपनाए र प्रदर्शनकारीमाथि गोली प्रहार गरेका छन् । सेनाले प्रदर्शनकारीको मृत्युमाथि प्रतिक्रिया व्यक्त गरेको छैन । २९ पत्रकारसहित सांसद प्रदर्शनकारी गरेर १७ सय भन्दा बढी मानिसलाई गिरफ्तार गरिएको संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार प्रमुख मिशेल ब्याचलेले बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *