ज्येष्ठ नागरिकलाई आजदेखि कोभिडविरुद्धको खोप, प्रधानमन्त्रीले पनि लगाउने

काठमाडौँं । आजदेखि नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सोही उमेर समूहमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज खोप लगाउँदैछन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । ज्येष्ठ नागरिकका साथै सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ । यसैबीच नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आज ल्याइँदै छ ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने जानकारी दिए । सचिव अर्यालले नेपालमा कोरोना खोपको अभाव नहुने भन्दै सरकारले खरिद गर्ने खोप ल्याउने तयारी गरिरहेको बताए । अर्यालले ५० लाख डोज खोप भारतसँग खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *