सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किलोमिटर सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ ।

उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झारेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताए ।

“मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ, प्रदेश नं १ मा जाने पानी बागमतीबाट प्रदेश नं २ हुँदै गएको छ, पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिन्छु, नेपालमा प्रविधिका माध्यमबाट ठूलो आयोजना सम्पन्न भएको छ”, उनले भने ।

विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीले बताए । आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको उनले बताए । दोस्रो चरणमा याङ्री र लार्केको पानीसमेत ल्याएर उपत्यकामा खानेपानीको समस्या समाधान गरिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।

अहिलेको परीक्षणका क्रममा २६० लिटर मात्र हालिएकामा फागुन २६ गते पानीको मात्रा बढाएर महाशिवरात्रिमा स्नानका लागि वाग्मतीमा स्वच्छ पानी बगाउने योजना पनि उनले सुनाए ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपाली जनताको खानेपानीको सपना २२ वर्षपछि राजधानीमा मेलम्चीको पानी आएर पूरा भएको बताए ।
मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीको पानी कोशी जलाधारबाट वाग्मती जलाधारमा आउनु ठूलो उपलब्धि भएको बताए । फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको उनले जानकारी दिए ।

मेलम्चीको पानी प्रशोधनका लागि सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ । प्रशोधित पानी सुन्दरीजलबाट लगेर उपत्यकाका नौ स्थानमा निर्माण भएका पानीपोखरीमा हाली त्यहाँबाट वितरण गरिन्छ । अर्को एक पानीपोखरी हाल निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणको याङ्री र लार्केको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणका दुई खोलबाट थप ३४ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी सुरुङमार्गबाट राजधानी ल्याई वितरण गरिने योजना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *