काठमाडौँ मेयर कप क्रिकेटमा पुलिस दुई रनले विजयी

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा पुलिसले वाग्मती प्रदेश टोलीलाई पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गर्दै पुलिसले निर्धारित ५० ओभरको खेलमा २५ दशमलव दुई ओभरमा सबै विकेटको क्षतिमा मात्र ७२ रन बनायो । त्रिहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा वाग्मतीले सवै विकेटको क्षतिमा २७ दशमलव दुई ओभरमा ७० रन बनाउन सक्यो ।

पुलिसका लागि मञ्जित श्रेष्ठले १५ तथा सुनिल धमला, अनिल साह र दिलीप नाथले १०/१० रन बनाए । बलिङतर्फ वाग्मती प्रदेशका अरियो पौडेलले चार, नन्दन यादवले तीन र सोनु देवकोटाले एक विकेट लिए ।

त्रिहत्तर रनको विजयी लक्ष्य पछ्याउने क्रममा वाग्मती प्रदेशका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले १० रन बनाए। बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले चार, ललित राजवंशीले तीन, सागर ढकालले दुई तथा राशिद खानले एक विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच चार विकेट लिएका पुलिसका दीपेन्द्रसिंह ऐरी घोषित भए । मेयर कप सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई ५० लाख उपलब्ध गराएको छ । प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *