पन्तको शतकमा भारतको उत्कृष्ट शुरुवात

प्रज्जवल थापा । विकेटकिप्पर ब्याट्सम्यान ऋषभ पन्तले शतक प्रहार गरेपछि भारतले इङ्ल्याण्डविरुद्ध भैरहेको चौथो तथा अन्तिम टेस्टमा उत्कृष्ट शुरुवात गरेको छ । शुक्रवार दोस्रो दिनको समाप्तिमा भारतले ९४ ओभरमा ७ विकेट गुमाउँदै २९४ रन जोडेको छ । यससँगै भारत खेलमा ८९ रनले अगाडि रहेको छ ।

दोस्रो दिनमा भारतले एक विकेटको क्षतिमा २४ रन जोड्दै इनिङ्सको शुरुवात गरेको थियो । भारतको शुरुवात भने राम्रो हुन सकेन । पहिलो दिनमै ओपनर शुभ्मन गिललाई शून्य रनमा गुमाएको भारतले दोस्रो दिनमा दोस्रो विकेटको रुपमा चितेश्वर पुजरालाई १७ रनमा गुमायो । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान विराट कोहलीले खाता खोल्न सकेनन् । यस्तै उपकप्तान अजिङ्के रहाणे ४५ बलमा २७ रन जोड्दै पभिलियन फर्किए ।

यस्तै रोहित शर्मा १ सय ४४ बलमा ७ चौकाको मद्दतमा ४९ जोड्दै स्टोक्सको बलमा एलबीडब्लू आउट भए । छैटौं विकेटको रुपमा रविचन्द्रन अश्विनलाई १३ रनमा गुमाउँदा भारतको खातामा १४६ रन जोडेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका वासिङ्टन सुन्दर र ऋषभ पन्त १ सय १३ रनको शतकिय साझेदारी गर्दै भारतलाई बलियो स्थितिमा पुर्याए । पन्त १ सय १ रन जोड्दै जेम्स एन्डरसनको बलमा रुटबाट क्याचआउट भए । उनले ११८ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।

दोस्रो दिनको समाप्तिमा भारतको लागि वासिङ्टन सुन्दर ६० र अक्सर पटेल ११ रन बनाएर खेलिरहेका छन् । इङ्ल्याण्डको लागि जेम्स एन्डरसन २० ओभर बलिङ गर्दै ४० रन खर्चेर ३ विकेट लिए भने बेन स्टोक्स र ज्याक लिचको नाममा २/२ विकेट रह्यो ।

यसअघि नरेन्द्र मोदि रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको इङ्ल्याण्डले ७५.५ ओभरमा अलआउट हुँदै २०५ रन जोडेको थियो । इङ्ल्याण्डको लागि बेन स्टोक्सले अर्धसतक सहित ५५ रन जोडे । यस्तै डानियल लाव्रेन्सले ४६, ओलि पोपले २९ र ब्रेस्ट्रोले २८ रनको योगदान गरे ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न अक्सर पटेलले ४, रविचन्द्रन अश्विनले ३, मोहमद सिराजले २ र वासिङ्टन सुन्दरले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *