काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।.
घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएका कामभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान र भ्रष्ट्राचार निवारण ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने बताए ।
प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने बताए । यस्तै निर्दोश व्यक्तिलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउने कुनैपनि व्यक्तिलाई पनि कारबाही गर्ने बताए ।
विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्टाचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता रहेको उनले बताए ।
