आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा बुधबार हस्ताक्षर गरेका छन् । यो आदेशले खासगरी उच्च प्रविधियुक्त ब्याट्री, औषधि (फर्मास्युटिकल्स), अति महत्वपूर्ण खनिज तथा सेमिकन्डक्टर्सका क्षेत्रलाई सम्बोधन गर्नेछ ।

पछिल्ला वर्षहरुमा संयुक्तराज्य अमेरिका यी वस्तुको आयातमा बढी निर्भर हुन थालेपछि चिन्ता बढ्दै गएको थियो । अब अमेरिकालाई आवश्यक पर्ने यी वस्तुको उत्पादन देशभित्रै बढाउन कार्यकारी आदेशले सघाउने छ । बाइडेन प्रशासनले यी वस्तुलाई राष्ट्रिय सुरक्षा र आर्थिक जोखिमका दृष्टिबाट निकै महत्वपूर्ण रहेको जनाएको छ ।

साथै, राष्ट्रपति बाइडेनले मजबुत तथा भरपर्दो आपूर्ति प्रणाली सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारसँग पनि मिलेर कार्य गर्न चाहेको बताएका छन् । कार्यकारी आदेशमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा आयोजित समारोहमा राष्ट्रपति बाइडेनले भने, “यो सबै अमेरिकीको स्वाभाविक चाहना पनि हो, समाधानको एक विकल्प हो । हाम्रो आपूर्ति प्रणालीमा रहेका जोखिम न्यूनीकरण गर्नुपर्ने र वैकल्पिक व्यवस्थाका लागि अमेरिकाले ध्यान दिनैपर्ने अवस्था आइसकेको थियो ।”

ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपतिको कार्यकारी आदेशले म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने बताएका छन् । पछिल्लो समयमा अमेरिकी राष्ट्रपतिहरुले यस्तै प्रतिबद्धता व्यक्त गरेपनि मिश्रित नतिजा मात्र प्राप्त भएका छन् ।

अमेरिकी श्रम तथ्याँक विभागका अनुसार अमेरिकामा हाल एक करोड २२ लाख म्यानुफ्याक्चरिङ रोजगारी उपलब्ध रहेको छ जबकी सन् २००० को यस क्षेत्रमा एक करोड ७० लाख रोजगारी उपलब्ध थियो । बाइडेन प्रशासनले म्यानुफ्याक्चरिङ क्षेत्रमा कति रोजगारी सिर्जना हुन्छ भन्ने बारेमा प्रष्ट बताएको छैन । ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदकी उपनिर्देशक समीरा फजिलीले म्यानुफ्याक्चरिङ क्षेत्रका कारण सेवा क्षेत्रमा पनि रोजगारी बढ्न सक्ने बताए ।

राष्ट्रपति बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघि विपक्षी रिपब्लीकन र सत्तारुढ डेमोक्रेट पार्टीका सांसदहरुसँग परामर्श गरी सहमति गरेका थिए । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अति महत्वपूर्ण खनिजको अमेरिकामै उत्पादन बढाउन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *