उद्यमशीलताको विकासबाट मात्र समृद्धि सम्भवः प्रदेश प्रमुख शेरचन

पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताएका छन् ।

पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड एण्ड मार्ट’को शनिबार उद्घाटन गर्दै शेरचनले युवाको जोश जाँगर र सामूहिक भावनाबाट मात्र मुलुकले गति लिने बताएका हुन् । प्रदेश प्रमुख शेरचनले देशको माटोको माया गरेर जन्मभूमि प्रतिकर्म गर्ने युवाप्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहनेलाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

आफू कन्दमूल खाएर गाउँ घरका आँगन पिँढीमा सुतेर आएको मान्छे भएकाले प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड नभएको उल्लेख गर्दै उनले युवा व्यवसायीलाई पनि कुनै घमण्ड नराखी सामाजिक छविको साथ व्यवसायी पहिचान बनाउन सुझाव दिए ।

प्रदेश प्रमुख शेरचनले भने, “कुनै पनि पद क्षणिक हुन्, क्षणिक पदको दम्भ हुनुहुँदैन, हजुरहरु पनि करोडको मालिक भएँ भन्ने दम्भ अरुलाई नदेखाउनुस्, सबैसँग मिजासिलो भएर कर्म गर्नुस् र आफ्नो पहिचानलाई सदा उच्च बनाउनुस् ।”

उनले लगानी गर्ने वित्तिकै दोब्बर तेब्बर मुनाफाको आशा गर्दा समस्या सृजना हुने भएकाले कुनै पनि परिस्थितिमा विचलित नभइ कर्ममा विश्वास गरेर अघि बढे सफल हुन सकिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य राजिब पहारीले सात युवाको सामूहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए । उक्त फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौं भन्ने सामूहिक भावना भएका सात युवा साथी मिलेर १० करोडको लगानीमा फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले भने“हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड–१९ को चपेटामा पर्यौं, तर पनि हामी विचलित नभई चुनौतीभित्र अवसर खोजेर अगाडि बढ्यौ र आज सञ्चालनमा ल्याउन सफल भयौँ ।”

उनका अनुसार हाल फुड एण्ड मार्टमा ३५ जनालाई रोजगारी दिएको छ । यो रेष्टुरेण्टमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकार पाइन्छ भने १२० ग्राहक अटाउने क्षमता रहेको छ । त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ ।

निकट भविष्यमा नै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी, फलफूल र मासु बिक्री केन्द्र राखिने अर्का सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिए । युवा राजु भुवाइँ, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज अधिकारीले उक्त फुड एण्ड मार्टमा सामूहिक लगानी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *