प्रज्जवल थापा । राष्ट्रिय महिला लिगको अन्तिम खेलमा आज दुई विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फूटबल क्लब भिड्दै छन् । दशरथ रंगशालामा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।
एपीएफले यसअघि नै लिगको उपाधि जितिसकेको छ । मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र पुलिस क्लबले १-१ गोलको बराबरी खेलेसँगै एपिएफले २ खेल अगावै उपाधि जितेको हो । सोही दिन एपिएफले विराटनगर महानगरपालिकालाई १-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई ११ खेलसम्म लम्ब्याएको थियो ।
प्रमुख फर्वार्ड सावित्रा भण्डारीको कमि विराटनगर विरुद्धको खेलमा प्रष्ट देखिएको थियो । नेपाल पुलिस विरुद्धको खेलमा विपक्षी खेलाडी उषा नाथसँग ठिक्किदा सावित्राले घुँडामा चोट बोकेकी थिइन् । उक्त चोटको कारण सावित्रा एक वर्ष मैदान बाहिर रहनेछिन् । हाल एपिएफ ११ खेलमा सतप्रतिशत जित निकाल्दै ३३ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ ।
यता आर्मी आजको खेलमा एपीएफलाई लिगको पहिलो हार चखाउने दाउमा छ । आर्मी दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने पक्का भैसकेको छ । आर्मी ११ खेलमा २६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।
आजै हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका उदयपुर र नेपाल पुलिस क्लब भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने खेल बिहान १० बजे शुरु हुनेछ । पुलिसले आजको खेल जितेको खण्डमा तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्नेछ । हाल पुलिस ११ खेलमा १५ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा छ ।
यता चौदण्डीगढी लिगको अन्तिम खेलमा पहिलो जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछ । ११ खेलमा चौदण्डीगढीले अङ्कको खाता खोल्न सकेको छैन ।
