३० मेगावाटको न्यादी आयोजनाले जेठदेखि विद्युत उत्पादन गर्ने

लमजुङ । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन गर्ने भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

आगामी जेठभित्रमा सबै निर्माण सकेर बिद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका सिनियार इञ्जिनीयर विवेक कारान्जितले जानकारी दिए । उनले भने, “हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र बाँकी सम्पन्न गर्नुपर्ने कार्य पनि अन्तिम अन्तिम चरणमा पुगेको छ । हालसम्म टनेल, पेनस्टक पाइप लाइनको काम, सुरुङको सबै काम सम्पन्न भइसकेका छन्।”

बाँधस्थलको पनि ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँधस्थलमा एउटा गेट मात्र राख्न बाँकी रहेको छ । पावर हाउसको अधिकांश काम सम्पन्न भइसकेको र उपकरण जडान अघि बढिरहेको आयोजनाले जनाएको छ । पावर हाउसमा दुई उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ । उनका अनुसार प्रशारनलाइनको काम पनि ५० प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाबाट ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि २५ टावर राख्नुपर्नेमा हालसम्म १२ राखिसकेको र १३ राख्न बाँकी रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भने, “हामीले यही फागुन महिनातिर निर्माणकार्य सक्ने लक्ष्य राखे पनि कोभिडलगायत विविध कारणले गर्दा निर्माणको अवधि थपिएको छ ।” रोकिएका सामग्री आइपुग्ने आयोजनाले जनाएको छ ।

विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो ।

विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगे पनि अब भने समय थप गर्न नपर्ने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार ६ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे चार अर्ब ऋण लगानी गरेका छन् ।

बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।

त्यस्तै सो आयोजना बाहेक पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको कोभिडका कारणले प्रभावित बनेको सुपरदोर्दी ‘ख’ आयोजना आयोजनाले आगामी भदौँ महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै सोही पालिकामै निर्माणाधीन हिलमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले आगामी चैत महिनाबाट बिजुली उत्पादन गर्ने भएको छ । सोही अनुरुप निर्माण कार्यलाई तीब्रता दिँदै आएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *