भागरथी हत्याका आरोपित प्रहरीद्वारा सार्वजनिक

बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टलाई सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको बताए ।

भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको उनले बताए ।

सुवेदीले प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको जानकारी दिए । भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिशोध साध्न भागरथीको हत्या गरेको बताएका छन् ।

भागरथीको बुबाले आफ्नी फूपूलाई दुव्र्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएका प्रहरीले जनाएको छ । घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए ।

तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ । घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए ।

घटनाको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाइदिएर सम्मानसमेत गरेका छन् । सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट २१ माघमा साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *