भागरथी हत्या प्रकरणः यसरी पक्राउ परे अभियुक्त

बैतडी । बैतडीको दोगडाकेदारकी १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा सोही विद्यालयमा अध्ययनरत दिनेश भट्ट पक्राउ परेका छन् । सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने दिनेश भट्ट पक्राउ परेका हुन् ।

पक्राउ परेका भट्टले घरायसी रिसिबीका कारण उनको हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो । ती युवक भागरथीको न्यायका लागि हुने प्रदर्शनमा समेत सहभागी हुने गरेका थिए । प्रदर्शनमा सहभागी भएपनि उनी हठात देखिएपछि प्रहरीले उनको निगरानी बढाएको थियो ।

उनले सोधपुछका क्रममा प्रहरीलाई आफू डिएनए परीक्षणका लागि समेत तयार रहेको बताएका थिए । प्रहरीले सोधपुछ गरी छाडेपनि उनको पिछा गर्न भने छाडेको थिएन । त्यसैक्रममा दिनेश धनगढी झरे । प्रहरीले भने उनलाई पिछा गरिरहेको थियो ।

अभियोग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले बताएको छ । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए । प्रहरीले आज पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *