काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित साक्षात्कारमा पौडेलले संयुक्त जनआन्दोलनबाट प्रतिगमन ढाल्नुपर्ने बताएका हुन् । ‘
उनले भने, ‘ आफैंले प्राप्त गरेको दुई तिहाईको मतको व्यवस्थापन गर्न नसक्ने, अनि आफू अध्यक्ष भएर पनि आफ्नो दलपनि व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री, हुँदाहुँदा अब उहाँले हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो । र हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ । यो अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो । यो कदमको हामीले डटेर सामना र प्रतिकार गर्नुपर्छ ।’
प्रधानमन्त्रीलाई संविधानमा कतैपनि विघटनको अधिकार नदिएको बताए । उनले भने, ‘यो विषयमा बहस चलिरहेको छ । निर्वाचन आयोगलाई जबरजस्त चुनावमा जानको लागि सरकारले ताकेता गरेको सुनेका छौं ।’–उनले भने,‘यो कदम असंवैधानिक छ । निर्वाचन आयोगले आँफैले कुन कुन दलले भाग लिने भनेर टुंगो लगाएको छैन । निर्वाचन हुनसक्ने सम्भावना छैन् । निर्वाचन हुँदैन ।’
पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नको लागि यो कदम नचालेको पनि बताए । उनले भने,‘निर्वाचन गर्नको लागि यो स्टेप चालिएको होइन । मिति नतोकिकन प्रतिनिधिसभा भंग गर्न पाईँदैन । उहाँले सरकार लम्ब्याउने र निरंकुश प्रणाली लागू गर्नको लागि यो कदम चाल्नुभएको हो ।’
उनले दशकौं लामो समयदेखि लडेर ल्याएको र प्राप्त गरेको उपलब्धि, संविधान र प्रणालीलाई हाम्रोतर्फबाट संयुक्त आन्दोलनको लागि पहल भइरहेको बताए । उनले भने, ‘यसको लागि वार्ता गरौं । यो कदमले संकटकालतर्फ लैजान्छ । अब देशलाई संयुक्त आन्दोलनले निकास दिन्छ । अहिले चुनाव भयो भने जितिन्छ कि भन्ने बेला होइन । यो कदमको विरोध गर्ने पक्षहरु एक ठाउँमा सडकमा आएर प्रतिवाद गरौं ।’
