संविधानमा लेखिए अनुसार मैले गर्दा र श्रीमानले गर्दा संविधानको मर्म अनुकुल व्याख्या गर्नुपर्छः वरिष्ठ अधिवक्ता कार्की

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्यहरूले राय दिन आजबाट बहस सुरू गरेका छन् । बहसका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै फरक फरक रहेको बताएका छन् ।

संवैधानिक इजलासलाई राय दिँदै उनले भने, ’सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को किसिमको आएको छ ।’कार्कीले संविधान निर्माणको बेला के छलफल भएको थियो भन्नेमा नभई संबिधानमा के लेखिएको छ भन्नेमा आधारित हुनुपर्ने सुझाव पनि दिएका छन् ।

उनले राज्यका निकायका कार्यक्षेत्रको संविधानसम्मत व्याख्या हुनुपर्ने पनि सुझाब दिएका छन् । संसद्, कार्यपालिका र न्यायपालिकालाई संविधानले अधिकार दिएको भन्दै सोही व्यवस्थाअनुसार संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने कार्कीको राय छ ।प्रतिनिधिसभा विघटनविरुद्ध संविधान लेखनमा संलग्न दलहरू नै आन्दोलनमा रहेको कार्कीको भनाइ थियो ।

’जसले संविधान बनाए, उनीहरूले संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएका छन् र उनीहरूले संविधान दुर्घटनामा पर्यो भनिरहेका छन्,’ यसको छिनोफानो लेखेको कुरामा टेकेर गर्नुपर्छ उनको सुझाव थियो ।

यो विषयको निक्र्यौल गर्नुपर्ने गम्भीर जिम्मेवारी संवैधानिक इजलाससामु रहेको पनि उनको भनाइ थियो । कुनै पनि संविधान लेखनको सुरुवात गर्दा कस्तो मान्यतामा लेख्ने भन्ने निक्र्यौल हुने कार्कीले बताए ।

नेपालमा संसदीय लोकतान्त्रिक व्यवस्था, गणतन्त्रको व्यवस्थामा जाने लेखिएको छ । उनले राजतन्त्रको व्यवस्थामा संविधान नआएको पनि धारणा राखे । ’संसदीय व्यवस्थामा जाने भनेपछि संविधान लेखियो ।

धारा ७४ मा लेखियो कि बहुलवादमा आधारित हुने, प्रतिस्पर्धात्मक लोकतान्त्रिक हुने र संघीय गणतन्त्रात्मक हुने प्रष्ट भनियो । यसमा हामी अलमलिनुपर्ने कारण छैन । संसदीय व्यवस्थामा संसद्को पहिलो काम सरकार गठन गर्ने, सरकार संसद्प्रति उत्तरदायी र जवाफदेही हुने मान्यता रहेको उनको भनाइ थियो ।

सरकारले संसद्को विश्वासमा काम गर्नुपर्ने, विश्वास छ कि छैन भन्नेबारे विश्वासको मत लिनुपर्ने तथा जसले सरकार हटाउन चाहन्छ उसले संसद्मा अविश्वासको मत पारित गर्नुपर्ने व्यवस्था रहेको कार्कीले बताए ।

’संसद्को विश्वास हुँदासम्म सरकारले काम गर्ने र नहुनासाथ विश्वासको मत लिने । जसले हटाउन चाहन्छ उसले अविश्वासको मत पारित गर्नुपर्ने हो । त्यो विश्वासको मत संसद्मा नै लिने हो, अन्त परीक्षण गर्न भएन,’ कार्कीको राय थियो ।संविधान सही ढंगले कार्यान्वयन नभएको अवस्थामा त्यसको पीडा र परिणाम कति भोग्नुपर्ने हो भन्ने कुरा अन्योल रहेको कार्कीको भनाइ थियो ।

संविधानको व्याख्या त्यहाँ जस्तो लेखिएको छ, त्यसै आधारमा हुनुपर्ने पनि कार्कीले सुझाए । उनले भने, ’संविधानको व्याख्या मैले गर्दा र श्रीमान्ले गर्दा पनि कानुनअनुसार गर्नुपर्छ । आफूखुसी गर्न पाइँदैन ।’ संविधान लेखनका आधारमा आएका कुराहरूलाई आधार नमानी लेखिएको संविधानमा के आएको छ त्यो आधारमा व्याख्या गर्न कार्कीले सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *