रामकुमारी झाँक्रीको गिरफ्तारी र रिहाइ न्यायको जग भत्काउने कामको सुरुवात

डा. युवराज संग्रौला ।
कानुनको शासनलाई सम्मान गर्नु र कानुनको कार्यान्वयन गर्दा स्वच्छता र निष्पक्षता कायम राख्नु न्यायको अधारभूत मान्यता हो । यसको खिलापमा कुनै काम हुन्छ र कुनै अधिकारीले त्यस्तो कार्य गर्छ भने, त्यो अख्तियारको दुरुपयोग हो । र, त्यो स्वेच्छाचारिता पनि हो । राज्यका यस्ता कार्यले समाजमा अराजकता पैदा गर्छ, र कानुन उल्लंघनको मनोविज्ञान निर्माण गर्दछ । रामकुमारी झाँक्रीजी गिरफ्तारी र रिहाइको सन्दर्भले फेरि न्यायको जगमा बारुद पड्काउने काम भएको छ । किन र कसरी ?

१. राजनीति खेमामा बाँडिएको र अराजक मनोविज्ञानबाट ग्रस्त समाजमा, कुनै एक व्यक्तिको पक्राउले अनन्तः उसको मौलिक स्वतन्त्रताको अपहरणको प्रश्न मात्र उठ्दैन, यस्तो कार्यले स्वेच्छाचारीतालाई स्थपित गर्छ र आउने दिनमा जोसुकै यसको शिकार हुन सक्छ । अचम्म त के थियो यस घटनामा भने कानुन व्यवसाय गर्ने भनिएका व्यक्ति पनि पक्राउको समर्थनमात्र होइन “जेलमा कोच“ भन्ने अभिव्यक्ति सामाजिक संजालमा हाल्दै थिए । कानुनको उल्लंघन गर्ने जोसुकैकाविरुद्ध न्यायिक कारबाही हुनु गर्नु आवश्यक हुन्छ तर न्यायको सिद्धान्त छ ‘पक्राउ गर्दा उसलाई अपराधी घोषित भएको व्यक्ति मानिनु हुन्न, पूर्वाग्रह राखेर पक्राउ गर्नु हुन्न र निर्दोषिताको सिद्धान्तको उल्लंघन गर्नु हुन्न।’ यस सिद्धान्तको धज्जी उडाउने काम केही आफूलाई राजनीति गर्ने, पढेलेखेका भनिएका र स्वयम् वकिल भनिएकाले गरे । यो न्यायिक विचलनको नमुना हो र न्यायको जगमा बारुद पड्काउने काम हो । यसको नकारात्मक परिणाम आउने दिनमा पर्नेछ र देखिने छ।

२. प्रहरीले कुनै कसुरमा मनिस पक्रिन सक्छ। अहिले हाम्रो कनुनले पकाउ गर्नु पहिला अदालतबाट वारेन्ट लिनु पर्ने व्यवस्था छ । रामकुमारी झाँक्रीलाई पक्रिदा अदालतबाट पकाउ पुर्जी लिएको थियो होला तर केही घन्टामा रिहाइ गर्नु पर्ने थियो भने त्यसबाट के प्रमाणित हुन्छ भने स्वंयम कानुन कार्यान्वयन गर्ने निकाय उन्ले अपराध गरेको हो भन्ने कुरामा विश्वास गर्दैनथ्यो। त्यसो हो भने पक्राउ गरेर रमिता मच्चाउने काम कानुनको दुरुपयोग हो, र न्यायको जग भत्काउने काम हो।

३.व्यक्तिको स्वच्छ पुर्पक्षका आधिकार मौलिक हक हुन् । रामकुमारीलाई अनुसन्धान गर्न पाइन्छ । तर उनलाई अनुसन्धान गर्दा उनका न्यायका मौलिक हक उल्लंघन गर्न पाइंँदैन । चारपाँच दिन अगाडिदेखि प्रहरीले पक्राउ गर्न खोजेको मिडियाबाजी एक किसिमको प्रचारबाजी थियो जसले उनको परिवार, उनका छोराछोरीको मनोविज्ञानमा प्रहार गरिरहेको थियो । यसबाट उनको निर्दोषिताको प्रतिरक्षा गर्ने हक हनन् पनि भयो।

४. सबैभन्दा महत्वपूर्ण कुरा यदि उनको भनाइबाट राष्ट्रपतिको मर्यादा भङ्ग भएको हो भने किन उहाँलाई प्रहरीले सफाइ दिएको हो त ? के प्रहरी हो यो मुद्दा निर्णय गर्ने ? फौजदारी कसुरमा अनुसन्धान गर्ने अख्तियार गृह मन्त्रालयको अख्तियार होइन, यो कानुनले दिएको प्रहरीको न्यायिक अधिकार हो जो महान्यायाधिवक्ताको कार्यालयको कानुनी परामर्श र निर्देशनमा हुन्छ । केबल प्रतिशोध वा राजनीति स्टन्टका लागि मानिस पक्रन र हल्ला मचाउन निर्दोषिताको सिद्धान्तले दिँदैन ।

यो घटनाले न्यायको जगमा प्रहार गर्ने काम भयो । पक्राउ गर्ने कार्य गलत भयो । कागज गराएर छोड्ने कार्यले प्रहरीलाई न्यायाधीश बनायो । आउने दिनमा मानिसले न्यायमा भरोसा किन गर्ने ? के सामान्य अनुसन्धान पनि नगरी मानिस पक्रिन कानुनले दिएको छ ? यदि उनले अपराध गरेको थियो भने जुन तरिकाले कारबाही भयो त्यसले राष्ट्रपतिको मर्यादा कायम भयो ? महान्यायाधिवक्ताको परामर्शले पक्राउ गरेको हो ? हो भने उनलाई छोड्ने कार्य गर्दा पनि परामर्श लिएको हो । देशका सबै व्यवस्था भत्काउने काम भैरहेका छन् । न्याय गर्दा खेलाची नगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *