फागुन मसान्तसम्म धरहरा र सिंहदरबारको पुनर्निर्माण पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनामा पूरा गर्न निर्देशन दिएका छन्।

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र धरहराको बिहिबार पुनर्निर्माण निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन्।

‘कोभिड १९ को महाव्याधिले पुनर्निर्माणकार्यमा पारेको बाधाका बावजुद अहिलेसम्म भएका प्रगति सन्तोषजनक छन्’, प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुलाई यथास्वरुपमै कायम राख्नुहोला।’

मुलुकको प्रमुख प्रशासनिक निकायका रुपमा रहेको सिंहदरबार भ्रमणका क्रममा प्रधानमन्त्रीलाई पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री कार्यालयलाई भूकम्प पश्चात गरिएको सबलीकरण, कार्यालय प्रयोजनका लागि व्यवस्था गरिएका वैठक कक्ष, प्रतिक्षा कक्ष लगायतका संचरचनाहरू, आपतकालीन तथा अग्नी नियन्त्रक संयन्त्र एवं कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावा सहितको वातानुकुलन प्रणालीबारे अवगत गराएका थिए।

सिंहदरबारको प्रमुख आकर्षण एवं विसं २०३० सालमा भएको आगलागीबाट बचेको एकमात्र पश्चिमी संरचना रहेको छ भने त्यसको पूर्व, दक्षिणपूर्व, तथा उत्तर पूर्वतर्फका भागमा प्रधानमन्त्री कार्यालय रहने गरेको थियो।

प्राधिकरणका केन्द्रीय योजना कार्यान्वयन इकाइका सह निर्देशक झपरसिंह विश्वकर्माका अनुसार कार्यालयलाई सुरक्षा र सुविधा दृष्टिले अब्बल हुने गरी प्रबलिकरण गरिएको छ। केन्द्रीय वातानुकुलित प्रणालीका अतिरिक्त आगलागीको समयमा अत्यन्त छिटो अग्नि शमन गर्ने प्रणाली यसमा थपिएका नयाँ विशेषता हुन्।

सिंहदरबार निरीक्षणपछि प्रधानमन्त्रीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको निरीक्षण गरेका थिए। कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि साथमा थिए।

भ्रमणका क्रममा प्रधानमन्त्रीले धरहरासहित सुन्धाराको संरक्षण तथा मुद्रा संग्रहालयका निर्माण प्रगतिहरुको अद्यावधिक जानकारी लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *