प्रज्जवल थापा । फ्रेन्सेली डिफेन्डर राफियल भरानको दुई गोलका मद्दतमा रियल म्याड्रिडले ला लिगामा संघर्षपुर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा म्याड्रिडले हुएस्कालाई २-१ गोलले पराजित गरेको हो । लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन राफियल भरानले दुई गोल गरे ।
हुएस्काको लागि जाभी गलानले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । ४८ औं मिनेटमा सिन्जी ओकाजाकीको पासमा जाभी गलानले गोल गर्दै हुएस्कालाई खेलमा अगाडि बढाएका थिए ।
५५ औं मिनेटमा राफियल भरानले गोल गर्दै म्याड्रिडलाई बराबरी ल्याएका थिए । ८४ औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भएको हो । जितसँगै रियल म्याड्रिड २१ खेलमा ४३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

