प्रधानमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चको फैसला आउँछ : सिटौला

भद्रपुर, (झापा) । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध सर्वोच्च अदालतको फैसला आउने विश्वास व्यक्त गरेका छन्।
झापाको भद्रपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले भने, ‘लोकतन्त्र शासन पद्धतिको संविधान मुलुकले पाएको हो, ओलीको सेटिङ-फेटिङमा अदालतको कुर्सीमा बसेका न्यायाधीश जानै सक्दैन भन्ने मेरो विश्वास छ। संविधानलाई कानुनले नदिएको अधिकार प्रयोग गरेर अदालतले प्रधानमन्त्रीलाई रोक्न सक्दैनन् भन्ने मलाई लाग्दैन।’

यसको बाबजुद सर्वोच्चले संसद् विघटनको निर्णय ओली पक्षमै सदर गरिदियो भने नेपालमा संसारकै अनौठो इतिहास शुरू हुने बताउँदै उनले भने, ‘अदालतले पनि क्षमता प्रकट गरेर सरकारको निर्णय रोक्न सकेन भने रोक्ने कसले ? त्यसपछि निर्वाचन आयोगले कस्तो निर्वाचन गराउला, त्यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन्छ त ?’

संविधानको कुनै पनि धाराले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै सिटौलाले भने, ‘अहिले के भनिँदैछ भने‍-प्रधानमन्त्रीमा परमेश्वर जस्तो अन्तर्निहित अधिकार छ रे, त्यति नभएर पहिला राजा र महाराजाहरूमा भएको सबै अधिकार प्रधानमन्त्रीमा आयो रे!’

प्रधानमन्त्री ओलीले कसरी यस्तो आँट गरे भनी प्रतिप्रश्न गर्दै सिटौलाले उनलाई सम्झाउने सुवास नेम्बाङ र अग्नि खरेल कहाँ थिए भनी सोधे। उनले थपे, ‘तर, तानाशाह भइसकेका ओलीविरुद्ध जान सबै डराउँदा रहेछन्‌, त्यसैले उहाँले अहिले एकपछि अर्का गल्ती गरिरहनु भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *