काठमाडौं । पाकिस्तानमा कोभिड १९ विरुद्धको पहिलो चरणको खोप अभियान आजदेखि सुरु भएको छ।
पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने पाकिस्तान सरकारको तयारी छ। यो खोप चीन सरकारले उपलब्ध गराएको हो। चीनले सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो। यसै महिनाको अन्त्यसम्ममा अरु लाखौं डोज खोप पाकिस्तान ल्याउने र आम जनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ।
सिनोफार्म खोपलाई चिनियाँ स्वास्थ्य अधिकारीहरुले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन्। करिब २२ करोड जनसंख्या रहेको पाकिस्तानमा पाँच लाख मानिसमा कोरोना संक्रमण देखिएको र तीमध्ये ११ हजार जनाको मृत्यु भएको छ।
तर सीमित संख्यामा मात्र परीक्षण गरिएकाले संक्रमित व्यक्ति र मृत्युको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ। सिनोफार्मको खोपको प्रभावकारिताका विषयमा केही विज्ञहरुले प्रश्न उठाए पनि पाकिस्तान सरकारले सिनोफार्मको खोपलाई अनुमति दिइसकेको छ।
