सिमसार संरक्षण दिवस दिन पत्रकार महासंघ धनकुटा शाखाको १० औं साधारणसभा सम्पन्न

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १० औं साधारणसभा मंगलबार सम्पन्न भएको छ। सिमसार संरक्षण दिवसको अवसरमा पारेर पाख्रीवास नगरपालिकाको पर्यटकीयस्थल सनसारीमाई सिमसार संरक्षण क्षेत्रमा पत्रकार महासंघ धनकुटा शाखाको १० औं साधारणसभा सम्पन्न भएको हो।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले चुनाव गराउनु भन्दा दुई महिना अगाडि नै साधारणसभा सम्पन्न गर्न गरेको सर्कुलर अनुसार महासंघ धनकुटाको साधारणसभा सम्पन्न गरिएको हो।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आगामी फागुनमा आगामी नेतृत्वका लागि जिल्ला, प्रदेश र केन्द्रको मतदान गर्ने निर्णय गरेको छ। साधारणसभाको बन्द सत्रमा महासंघ धनकुटा शाखाका सचिव विदुर खवासले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नारायण आठपहरियाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ।

चार क्रियाशील पत्रकार नगदसहित पुरस्कृत

नेपाल पत्रकार महासंघ धनकुटाले धनकुटाका चार जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गरेको छ। धनकुटाका विभिन्न सञ्चार क्षेत्रमा दुई दशक भन्दा बढी निरन्तर पत्रकारिताका क्षेत्रमा क्रियाशिल पत्रकारहरु सन्तवीर लामा, सरिता बराईली राई, विनोद घिमिरे, देवकला कार्कीलाई पुरस्कृत गरेको हो। दशौं साधारणसभाका अवसरमा उनीहरुलाई जनही ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरेको हो।

पत्रकारिता क्षेत्रमा क्रियाशिल भई आवाज विहिनका आवाज र परिवर्तनमा कलमबाटै समाजमा योग्दान गरेकाले उहाँहरुलाई पुरस्कृत गरिएको पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवासले जानकारी दिए। यो पुरस्कार आगमी साधारणसभामा पनि यस्तै अरु क्रियाशिल पत्रकारलाई पुरस्कृत गरिदै लागिने पनि सचिव खवासले बताए।

भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान

नेपाल पत्रकार महासंघ धनकुटाले महासंघ धनकुटाको भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरेको छ। २०६३ देखि २०६५ सालमा पत्रकार महासंघ धनकुटाको भवन निर्माणको बेला सहयोग गर्ने तत्कालीन धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङ, तत्कालीन जिल्ला विकास समितीका योजना अधिकृत तीर्थ धिताल, तत्कालीन धनकुटा नगरपालिकाका प्राविधिक मिङमादोर्जी शेर्पा, पत्रकार महासंघ धनकुटाका तत्कालीन सचिव लीलाबल्लभ घिमिरे, धनकुटाका किरण घिमिरे, गोविन्द खत्री र पत्रकार महासंघ सहसचिव हरिबहादुर लम्जेललाई सम्मान गरिएको हो।

दशौं साधारणसभाका अवसरमा उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए।

भवन अभावमा भाडाको घरमा पत्रकार महासंघ सञ्चालन भइरहेको बेला भवन निर्माणमा सहयोग गरि आफ्नै भवनमा पत्रकार महासंघ सञ्चालन गर्ने वातावरण बनाएकोमा उनीहरुलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *