याङगुन । म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि त्यसको चौतर्फी विरोध भइरहेका बेलाअमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिवन्ध लगाउने बिषयमा छलफल भइरहेको बताएका छन ।
बाइडेनले भने– ‘अमेरिकाले गएको दशकमा प्रजातन्त्रको मार्गमा भएको प्रगतिलाई हेरेर म्यानमारमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । तर अहिलेको अवस्थालाई हेरेर हाम्रा प्रतिबन्ध सम्बन्धी कानूनहरु तत्काल हेरिनु पर्ने भएको छ र सोही अनुसार अगाडि बढिने छ ।
कू को चौतर्फी विरोध भइरहेका बेला त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ । मंगलबार बस्ने बैठकमा सैन्य कू पछिको म्यानमारको अवस्थाबारे छलफल हुने जनाइएको छ ।
म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको छ। सेनाले एक वर्षका लागि संकटकालको घोषणा समेत गरेको छ ।
गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिन सत्ता हत्याएको हो ।
म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउनु सुरक्षा परिषदका सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा वूडवार्डले बताएकी छन् ।
