काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका क्रममा राजनीति हाबी भएको बताएका छन्।
विघटित प्रतिनिधिसभा सदस्य गगन थापालगायत स्थानीय बासिन्दासँग पटक–पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिएर कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भन्दै शाक्यले धेरै काम सम्पन्न भएपछि अनावश्यक बखेडा झिकेर राजनीति गरिएकाे बताए।
‘गगन थापा कमलपोखरीलाई छठ पोखरी बनाउन चाहन्थेँ, मैले त्यसलाई सांस्कृतिक पोखरी बनाउन चाहेँ,’नेवाः राष्ट्रिय पत्रकार दबूँ काठमाडौं जिल्ला शाखा कार्यालयको उद्घाटन गर्दै शाक्यले भने, ‘काठमाडौं महानगरले गर्न खोजेको विकासको काममा राजनीतिक स्वार्थ राखेर अवरोध गर्दा समस्या हुने गरेको छ। कमलपोखरीमा पनि त्यहि गर्न खोजिँदैछ।’
शाक्यले कमलपोखरीमा त्यही क्षेत्रका जनप्रतिनिधि थापाले अहिलेसम्म गरेकाे खर्चकाे लिखित विवरण माग्दै पत्र पठाएको पनि जानकारी दिए। ‘यदि उहाँले सो विवरण दिन सक्नुभएन भने त्यहाँ खर्च भयो भनिएको रकम हिनामिना गरेको ठहरिने छ,’ शाक्यले भने, ‘उहाँ (गगन थापा) स्वयंले मलाई लिखित पत्र पठाई कमलपोखरीमा सांसद कोषबाट करोडौं रकम खर्च गरिसकेको भनी जानकारी दिएका कारण उहाँलाई लिखित पत्र नै पठाई कमल पोखरीमा उहाँले अहिलेसम्म गरेको खर्च विवरण पठाउन अनुरोध गरेको हुँ।’
थापाले पटक–पटकका छलफलमा पनि त्यहाँ सांसद विकास कोष र नीजि स्रोतबाट तारबारलगायतका कार्य गरेको बताएको पनि शाक्यले जानकारी दिए।
