भ्रष्टाचारनै मुलुकको उन्नतिको बाधक

  • 258
    Shares

दुर्गाप्रसाद गौतम ।
प्रायः विश्वका कमविकसित मुलुकहरुमा भ्रष्टाचार अर्थात् (Corruption)राजनैतिक जार्गन बन्न पुगेको छ । प्रायः यस्ता मुलुकका प्रत्येक नेताहरुले सत्तामा पुग्नु भन्दा अगाडि मुलुकमा व्याप्त अनिश्चितता तथा भ्रष्टाचारनै मुलुक उन्नतिको बाधकको रुपमा चित्रित गरेकोे पाइन्छ । तथापी सत्तामा पुगेपछि यिनै नेताहरुबाट भ्रष्टाचारको पृष्ठपोषण भै भ्रष्टाचार मौलाउने अवसर प्राप्त गरेको धेरै दृष्टान्तहरु विश्वका कैयन मुलुकहरुका सत्तामा पुगेका नेताहरु सत्ता आरोहणको ५–१० वर्ष पश्चात नै भ्रष्टाचारका ठूला ठूला मुद्दामा मुछिएर जेल चलान भएका दृष्टान्तबाट थप स्पष्ट हुन सकिन्छ । कम विकसित मुलुकहरुमा भ्रष्टाचार शब्द प्रायः शक्तिमा रहेका सबै नेताहरु र सरकारी सेवामा कार्यरत प्रायः उच्च पदस्थ अधिकारीहरुको मुखमा नै झुन्डिएको आदर्शवादी वाक्य हो ।

यस्ता मुलुकहरुमा सामान्य सर्वसाधारणदेखि सबै स्तरका जनतामा भ्रष्टाचार शब्द नसुन्ने मानिस प्रायः विरलै होलान् । तर व्यवहारमा उक्त वाक्यलाई आदर्शवादी अनुसरण भने कहीँकतैबाट भएको भेटिँदैन । यसै हुनाले पनि विकासोन्मुख मुलुकका सरकारहरुप्रति र विभिन्न सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवाप्रति जनस्तरबाट धेरैनै गुनासाहरु मुखरित हुँदै जान थालेका छन् । जुन मुलुकको उन्नति र विकास तथा वृद्धिका लागि शुभ संकेत भने निश्चय होइन । पछिल्लो समय विकासोन्मुख मुलुकमा जनस्तरबाट नै बढ्दो घुस, कमिसन, कालोबजारी, सिन्डिकेट, भ्रष्ट नेता, विना घुस काम नगर्ने सरकारी कर्मचारीहरुकै कारण मुलुकको चौतर्फी विकास हुन नसकेको हो भनि आममानिसहरुमा दिनानुदिन नैराश्यता वृद्धि हुँदै गएको आवाज उठ्न थालेको छ । वास्तवमा भ्रष्टाचार कुनै एक अमुक सामाज वा राष्ट्रको मात्र समस्या नभइ यो विश्वव्यापी महारोगको रुपमा स्थापित हुँदै गएको छ ।

तथापी विकसित मुलुकहरुमा जनताको स्तर तथा सरकारको जवाफदेहिता विकासोन्मुख तथा कमविकसित मुलुकहरुको तुलनामा उच्च रहेको कारण भ्रष्टाचारको मात्रा वा दर तुलनात्मकरुपमा न्यून रहेको देखिन्छ । विकसित मुलुकहरुमा जनताको सोचाइको स्तर तथा सरकार संचालन प्रणालीगत रुपमा नै उपयुक्त तथा भरपर्दो हुने हुँदा पनि तुलनात्मक रुपमा यस्ता मुलुकहरुमा कम विकसित मुलुकहरुको दाँजोमा भ्रष्टाचारको दर न्युन हुने गरेको हो भन्ने कुरा बुझ्न सकिन्छ ।

२० औं शताब्दीको अन्त्यदेखि नै विश्वका कमविकसित मुलुकहरुको संस्थागत चरित्र नै प्रायः दलाल पूँजीवादी प्रकृतिको रहँदै आएकोले पनि यस्ता मुलुकहरुमा भ्रष्टाचार अझ वृद्धि हुँदै गएको हो भन्नेतर्फ भ्रष्टाचार नियमनकारी निकायहरुलाई वोधगम्यता हुन जरुरी छ । प्रायः दलाल पूँजीवादी चरित्र भएका अविकसित मुलुकहरुमा राज्यको ढुकुटीको नियन्त्रण नै दलाल कमिशनखोरहरुको हातमा रहन्छ जसका कारण भ्रष्टाचारको स्वरुप नै फरक र अदृष्य हुन्छ । यस्ता अर्थ व्यवस्थाहरुमा नीतिगत, विधिगत र मिलिभगत रुपमा राज्यको ढुकुटी रित्तिदै गएको कुरा जनतालाई पत्तोसमेत हुँदैन । बेला बखत विश्वका विभिन्न मुलुकहरुका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्च पदस्थ कर्मचारीहरुलाई सत्ता पदमुक्त भए पश्चात लागेका अभियोगहरु र त्यसको पुष्टि पश्चात भएका सजायहरुले उक्त कुरालाई थप पुष्टि गर्दछन् ।

भ्रष्टाचार एक भयानक डरलाग्दो सामाजिक अपराध हो । समाजमा व्याप्त हुने भ्रष्टाचार सत्ता र कानुनी शक्ति सम्पन्न पदाधिकारीसँगको मिलोमतोमा मात्र सम्भव हुन्छ । सानातिना भ्रष्टाचारहरु व्यक्तिगत रुपमा साना कर्मचारी र व्यक्तिको मिलोमतोमा हुने भएपनि ठूला ठूला भ्रष्टाचार जसले मुलुकको उन्नति तथा विकासका बाटाहरुलाई नै अवरोध पुर्याउँछन् तिनी भने ग्राण्ड पोलिसी करप्सन हुन् जुन राज्यका कानुनी वैधता प्राप्त शक्ति सम्पन्न सार्वजनिक पदाधिकारी निकाय अथवा कुनै अमुक समूह वा दलाल एजेन्टहरुका प्रत्यक्ष संलग्नतामा मात्र सम्भव रहन्छ । यस्ता भ्रष्टाचारमा राज्यस्तरको नै संलग्नताले नीतिगत भ्रष्टचारलाई वृद्धिगरी समग्र मुलुकको नै छवी अन्तर्राष्ट्रिय स्तरमा धुमिल हुनपुग्छ ।

विकासोन्मुख तथा कम विकसित मुलुकहरुमा पछिल्लो समयमा भएका ठूला ठूला भ्रष्टाचार माथिल्ला तहका राजनैतिक नेतृत्व तथा उच्च तहका सरकारी कर्मचारीहरुकै मिलिभगतमा भएको देखिन्छ । यस्ता मुलुकहरुमा माथिल्ला तहका राजनैतिक नेतृत्व तथा उच्च पदस्थ कर्मचारीहरुले नीतिमा सानो सानो परिवर्तन गरेर आफ्नो स्वार्थ समूह वा वर्गको हितमा काम गर्ने गर्दछन् । यसरी नीीत निर्माण तहवाट नै अदृष्य रुपमा भ्रष्टाचार हुने तथा प्रश्रय दिने कार्यले यस्ता कृयाकलापहरुको अनुसन्धान प्रकृया नै जटिल तथा अपारदर्शी हुने खतरा वृद्धि हुँदै गएको छ । त्यसैले विकासोन्मुख तथा कमविकसित हाम्रो जस्ता मुलुकहरु राज्यस्तरबाट हुँदै आएका नीतिगत भ्रष्टाचारलाई प्रश्रय पुग्ने खालका क्रियाकलाप वा प्रकृयाहरुबाट विस्तारै विस्तारै मुक्त हुने तर्फ जागरुक हुन जरुरी छ ।

पछिल्लो समय नेपाली समाजमा देखापरेको सत्ताधारी पार्टी नेकपाको आन्तरिक पार्टी विवाद पनि नेपालमा मौलाउँदै गएको नीतिगत भ्रष्टाचारको नै उपज हो भन्ने कुरा सवैले बुझ्न जरुरी छ । नेकपाका दूई समूहले एक अर्कालाई लगाएका आरोपहरु र त्यसका प्रतिउत्तरका आरोपपत्रहरुलाई केलाउने हो भने हाम्रो समाजमा सत्ता र शक्तिकै आडमा कसरी भ्रष्टाचार, अनिमियतता मौलाउँदै गएको छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । विगत तीन वर्षको समयमा मात्र जनस्तरमा उठाइएका ठूला ठूला अनिमियतताका आशंकाहरु जस्तै ललिता निवासकाण्ड, वाइडवडी काण्ड, कोभिडमा स्वास्थ्य सामग्री खरिद प्रकरण काण्ड आदिमा सरकारी जवाफदेहीताप्रतिको उदासिनतालाई ग्राण्ड पोलिसी करप्सनको शंकाभित्र प्रत्येक सचेत नागरिकले हेक्का गरेको वर्तमान अवस्था हो । यसलाई चिर्न राज्यस्तरबाट व्यक्त नैराश्यताले विषयबस्तुलाई थप जटिल र रहस्यमय बनाएको छ । तथापी विना अनुसन्धान र परीक्षण यी विषयहरु यसै हुन भनि एकिन भन्न भने सकिंदैन ।

नेपाली समाजको वर्तमान चरित्रलाई नियाल्ने जो कोहीले नेपाल भ्रष्टाचारको गहिरो खाडलमा फस्दै गएको सजिलै महसुस गर्दछ । यहाँ हरेक क्षेत्रका निश्चित मानिसहरुलको संलग्नता भ्रष्टाचारमा रहेको कुरा पुष्टी हुने आधारहरु श्रृजना हुँदै जानुले नेता, सरकारी कर्मचारी मात्र नभई निजी तथा गैरसरकारी क्षेत्रसमेत भ्रष्टाचारको दुश्चक्रमा फस्दै गएको देखिन्छ ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासनको प्रत्याभूति विना कुनै पनि मुलुकको उन्नति सम्भव नहुने कारण हामी पनि उन्नतिको आशा गर्न सक्दैनौं । नेपालमा भ्रष्टाचार क्यान्सर जस्तै मुलुकका हरेक क्षेत्र र अङ्गहरुमा फैलिएकाले समयमानै यसको नियन्त्रण नगर्ने हो भने हाम्रो मुलुक असफल राष्ट्र बन्ने खतरा बढ्दै गएको छ । अतः समयमा नै नेपालले राज्यस्तरबाटनै शून्य सहनशीलतामा आधारित तीन रणनीतिः दण्ड, निरुत्साहन र शिक्षा अवलम्बन गरी विद्यमान भ्रष्ट राजनैतिक, सामाजिक तथा संस्थागत चरित्रबाट आफूलाई बाहिर निकाल्ने प्रयत्न गर्न जरुरी छ । अन्यथा मौलाउँदै गएको दलाल पूँजीवादी भ्रष्ट राज्यस्वरुपले एकातिर मुलुकको उन्नतिलाई अवरोध गर्छ भने अर्कोतर्फ मुलुकलाई नै भ्रष्टाचार जस्तो महारोगको दलदलमा भासी अनन्तकालिन पथभ्रष्ट अन्धकारमय गन्तव्यहिन दिशातर्फ धकेल्ने छ ।

लेखक आर्य स्कूल सितापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।


  • 258
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *