खोप अभियान सुरु भएको दोस्रो दिन बिहीवार २८ हजार जनाभन्दा धेरैले खोप लगाए

काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीवार २८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बिहीवार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार सात सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीवार खोप लगाउनेमध्ये प्रदेश १ मा तीन हजार आठ सय ४७, प्रदेश २ मा दुई हजार एक सय ७४, वाग्मती प्रदेशमा ११ हजार चार सय ६१ र गण्डकी प्रदेशमा चार हजार आठ सय ५३ जना रहेका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा दुई हजार तीन सय तीन, कर्णालीमा एक हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार चार सय १७ जनाले खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म खोप लगाएका व्यक्तिहरूमा कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खाेप अभियानकाे पहिलाे दिन बुधवार १२ हजारभन्दा धेरैले खाेप लगाएका थिए ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *