नेपालमा खोप अभियान सुरु भएको पहिलो दिन नौ हजार जनाभन्दा धेरैले खोप लगाए

काठमाडाैँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधवार नौ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बुधवार ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार खोप लगाउनेमध्ये प्रदेश १ मा एक हजार दुई सय ५५ जना, प्रदेश २ मा सात सय २६ जना, वाग्मती प्रदेशमा दुई हजार छ सय ९४ जना र गण्डकी प्रदेशमा एक हजार आठ सय ४३ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा सात सय ३३ जना, कर्णालीमा सात सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । ७७ वटै जिल्लामा खोप केन्द्र सञ्चालन गरेर आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारले जनाएको छ ।

पहिलो डोज खोप लगाएकाहरूले २८ दिनपछि दोस्राे डोज खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *