सावित्रा र अनिता चम्केको खेलमा एपिएफको फराकिलो जित

प्रज्जवल थापा । फर्वार्डद्वय सावित्रा भण्डारी र अनिता केसि चम्किको खेलमा नेपाल एपीएफ क्लबले फराकिलो जित निकालेको छ । राष्ट्रिय महिला लिग अन्तर्गत भएको खेलमा एपिएफले विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले चार गोल गर्दा अनिता केसिले दुई र शरु लिम्बुले एक गोल गरिन् । खेलको नवौं मिनेटमा अनिता केसिले गोल गर्दै एपीएफलाई खेलमा अगाडि बढाएकी थिइन् । अन्जली तामाङको क्रस विपक्षी गोलरक्षकले राम्रोसँग बचाउन नसक्दा गल्तीको फाइदा उठाउदै अनिताले गोल गरेकी थिइन् ।

२५ औँ मिनेटमा अनिता केसिले झण्डै मैदानको मध्य भागमा दिएको बललाई सावित्राले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । यस्तै ४१ औँ मिनेटमा प्रिती राईको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई पहिलो हाफमा सहज स्थितिमा पुर्याएकी थिइन् ।

पहिलो हाफमा ३ गोल गरेको एपीएफले दोस्रो हाफमा पनि थप ४ गोल गर्यो । ७१ औँ मिनेटमा सावित्रा भण्डारीको पासमा सरु लिम्बुले गोल गर्दै एपीएफलाई ४-० गोलको अग्रता दिलाइन् । ७३ औँ मिनेटमा प्रितिको पासमा गोल गर्दै सावित्राले ह्याट्रिक पूरा गरिन् । यससँगै सावित्राले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेकी छिन् । चन्द्रपुर नगरपालिका विरुद्धको पहिलो खेलमापनि सावित्राले ह्याट्रिक गरेकी थिइन् ।

७९ औँ मिनेटमा सरु लिम्बुको पासमा अनिता केसिले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ६-० गोलको अग्रता दिलाइन् । ८८ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत चौथो गोल गर्दै एपीएफलाई ७-० गोलको फराकिलो जित दिलाइन् । यससँगै एपीएफले लिगको लगातार दोस्रो खेलमा जित निकालेको छ ।

तस्बिर क्रेडिट :- खेलपाटी डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *