संवैधानिक इजलासमा बहसका लागि कानुन व्यवसायीलाई ३० मिनेट समय निर्धारण

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस लम्बिने देखिएपछि कानुन व्यवसायीहरूका लागि समय तोेकेको छ । सुनुवाइको चौथो दिन बुधबारदेखि इजलासले समय निर्धारण गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूका लागि ३० मिनेटको समय निर्धारण गरिएको जानकारी दिएका छन् । बहसमा सुरु गर्न आएका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बोल्नुअघि प्रधानन्यायाधीश राणाले बहसका लागि ३० मिनेटको समय निर्धारण गरेको बताए ।

ज्ञवालीले भने आफूलाई १ घण्टा लाग्ने भएकाले समय दिन आग्रह गरेका थिए । न्यायाधीश अनिलकुमार सिन्हाले बहस लामो हुँदा फैसलामा ढिलाइ हुने भएकाले छोटो गर्न आग्रह गरेका थिए । यसअघि पनि इजलासले समयमा ख्याल गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो । बहस गर्दागर्दै समय लामो लागेर संसद विघटन गलत भए पनि निर्वाचनमा मुलुक गइसकेकाले रोक्न परेन भन्ने अवस्था नआओस् भनेर इजलासले सचेत गराएको थियो ।

तीन दिनको सुनुवाइमा जम्मा १० जना कानुन व्यवसायीले मात्रै बहस गरेका छन् । सबै पक्षका कानुन व्यवसायी गरेर ३ सय ६३ जना रहेको इजलासले यसअघि नै जानकारी दिएको थियो । आइतबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको निरन्तर सुनुवाइ भइरहेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *