USAID

पाटनको प्राचीन अग्निशालामा २४ गेज मोटाइको तामा राखिने


सुभानु आचार्य, ललितपुर । ललितपुर महानगरपालिका–१९ पूर्णचण्डीमा अवस्थित प्राचीन अग्निशाला छानोमा २४ गेज मोटाइको तामा राखिने भएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा जति सानो गेज मोटाइको तामा प्रयोग गरिन्छ त्यति नै बढी वर्षसम्म टिक्ने र बाक्लो पनि हुने भएकाले चाँडै नबिग्रियोस् भनी सो गेज मोटाइको तामा हाल्न लागिएको हो ।

अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले अग्निशालामा एकदमै बाक्लो २२ गेज मोटाइको तामा छाउन मन भए पनि खरीद गर्न धेरै महङ्गो पर्ने भएकाले २४ गेज मोटाइको तामा छाउन लागिएको बताए । उनका अनुसार ललितपुर महानगरपालिकाले २६ गेज मोटाइ तामा प्रयोग गर्न अनुमान गरिदिएको र ४० लाख रुपैयाँ दिएको हुँदा २२ गेज मोटाइको तामा खरीद गर्न धेरै रकम अभाव हुने भयो ।

छब्बीस गेजको तामा अलि पातलो हुने भएकाले २२ र २६ बीचको २४ गेज मोटाइ तामा गुणस्तरीय र लामो समय टिकाउ हुने आधारमा प्रयोग गर्ने योजना बनाएको उनले बताए । उनका अनुसार विसं १९९० अघि यसमा झिँगटीको छाना छाइएको थियो ।

९० सालको भूकम्पले छानो भत्किएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो हालियो । अग्निशालालाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता नपाउने हुँदा तामाको छानो हाल्न लागिएको हो ।

“अब आउँदो १०० वर्षसम्म पनि यस तामाले काम देओस् भन्ने सोचअनुरुप महानगरपालिकाको अनुमतिमा केही फेरबदल गरी २४ गेज मोटाइको तामा हाल्न लागिएको हो ।” अग्निशालामा सो मोटाइको तामा प्रयोग गर्दा महानगरपालिकाले दिएको रकममा छ लाखदेखि सात लाख अपुग हुन्छ । सो अपुग भएको रकम जनश्रमदान वा भक्तजनबाट सङ्कलन गरी प्रयोग गरिने भएको शर्माले जानकारी गराए ।

अग्निशालामा तामा छाउने भाग भत्काइसकिएको छ । भवनको बाँकी भाग भने जस्ताको तस्तै पुरानो शैलीमा रहनेछ । विसं २०७२ सालको गोरखा महाभूकम्पले अग्निशालाको भवनमा त्यति क्षति पुर्याएको देखिँदैन । अग्निशालाभित्र विष्णु, रुद्र, ब्रह्म, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहे पनि पाँच कुण्डको नामले परिचित रहेको छ । सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र, ब्रह्म र सूर्य कुण्डमा आगो बल्ने गरेको पुजारी रविश्याम शर्माले बताए । उनले भने, “हरेक दिन यहाँ राष्ट्र शान्तिका लागि अग्नि होम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’ का रूपमा श्राद्ध गरिन्छ ।

प्राचीन समयमा १८ थरीका दाउरा बालिने यस अग्निशालामा हाल भने किरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएका बाहेक अन्य दाउरा बालिने गरिन्छ । यहाँ कृष्णपक्ष वा शुक्लपक्ष प्रतिपदाका दिन लगभग वर्षको २४ वटा विशेष होम गरिन्छ । प्रतिपदाका दिन अग्निशालामा ‘पुरोदासा’ अर्थात् चामलको रोटी पकाइन्छ । सो रोटीको सेवन गरेपछि लामो समय सन्तान प्राप्त गर्न नसकेका मानिसले सन्तान सुख पाउने विश्वास रहेको शर्माले बताए ।

अग्निशालामा काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको प्रकाशबाट निकालिएको सूर्याग्नि, जलकुण्ड त्रिवेणीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नामका पाँच धुनी बल्छन् । पाँच अग्नि एकै ठाउँमा बल्ने सो अग्निशाला विश्वको एक मात्र स्थान पाटनमा रहेको अनुमान गर्न सकिने स्थानीयवासीको बुझाइ छ ।

सम्पदा संरक्षणलाई प्राथमिकतामा राखी गौरवशाली योजनाअन्तर्गत यस वर्ष भने तामाको छानो फेर्न लपु महानगरपालिकाले रकम सहयोग गर्न सफल भएको प्रमुख चिरीबाबु महर्जनले बताए ।

किंवदन्ती

काठमाडौँ उपत्यकामा बस्ती बस्नुपूर्व यहाँ एक दह थियो । सो दहमा पानी सुकेपछि हाल अग्निशाला रहेको जमीन वरपर भने चिसो नै रहेको थियो । सो समय दक्षिण भारतबाट छ ब्राह्मण लौरो टेकेर पाटन आएछन् । ती ब्राह्मण पाटन आएर लौरो जमीनमा गाडी एक रात त्यहीँ बसेछन् । भोलिपल्ट सो लौरो झिक्दा ब्राह्मणले सो लौरोमा टुसा पलाएको देखी पवित्र भूमिका नाममा तर्पण, यज्ञ, होम आदि गरी बसेछन् । यसैका आधारमा सो अग्निशालालाई पाँचदेखि छ हजार वर्ष पुरानो भनिएको अध्यक्ष शर्माले बताए ।

अग्निशालाको उत्तरपट्टि हालको वाग्मती र दक्षिणपट्टि नक्खु खोला वा प्रवाहित रहँदा यसलाई त्रिवेणी सङ्गमका रूपमा पनि मानिन्छ । हरेक वर्ष मकर सङ्क्रान्तिका दिन काठमाडौँ उपत्यका तीनै शहरका मानिस अग्निशाला त्रिवेणीधाममा दानधर्म आदि काम गर्न आउने भएकाले यहाँ ठूलो मेला लाग्ने गर्छ ।

हाल अग्निशाला परिसरमा रहेका बोटबिरुवाहरु ती छ ब्राह्मणले टेकेर आएका लौरोबाट उम्रिएका र सो रूखको नाम ‘वरुण वृक्ष’ अर्थात् समुद्री सतह र समुद्र नजिक एकदेखि डेढ सय मिटर टाढा मात्रै पाइने महत्वपूर्ण वृक्ष मानिने जानकारहरुको बुझाइ छ ।

अग्निशालामा घर जस्तै प्रकारको विना गजुरको छानो वा मन्दिर तवरको देख्न पाइन्छ । प्राचीन समयदेखि यस ठाउँमा अग्नि बलिरहने भएकाले अग्निशाला भनी नामकरण गरिएको हो ।

अग्निशालामा ‘अग्निहोत्री बाजेबज्यै’ रिक्त भएमा छ कुलका ज्येष्ठ थकालीमध्येका एक जोडी दम्पतीलाई कार्तिक शुक्ल द्वादशीका दिनमा मात्र नियुक्त गरिने चलन रहेको छ ।

प्राचीनकालमा भारतबाट आएका ती छ व्यक्तिका चारदेखि पाँचसय घरपरिवार हाल पाटनको पूर्णचण्डी, पिम्बहाल अनि पाटनढोका, मङ्गलबजार, अग्निशाला आसपास क्षेत्र र पाटन सुन्धारामा छरिएर बसेका छन् ।

अग्निशालामा छ पुजारी रहने चलनानुसार पर्व वा कुनै मेला नपरेको दिन दैनिक दुईजना ब्राह्मणले त्यहाँभित्रको सम्पूर्ण काम गर्ने गर्छन् । एक ब्राह्मणले नित्य पूजा गर्छन् भने अर्का आमाबाबु नभएकाले श्राद्ध आदि गर्ने गर्छन् ।

अग्निशालामा दैनिक श्राद्ध गरेको पिण्ड सधैँ नदीनालामा सेलाउन सम्भव नभएकाले कुण्डमा होम गरिदिने चलन रहेको अध्यक्ष शर्माले बताए ।

मुलुकका हिन्दूलगायत बौद्ध धर्मावलम्बीले आफ्नो जन्मदिन परेको बेला, विशेष अवसर, नवग्रहको दोष आदि हटाउन अग्निशालामा आएर पूजा, जप, होम, दान गर्ने गर्छन् भने नयाँ मूर्तिको प्राण प्रतिष्ठा वा नयाँ भाँडा जगाउन पनि अग्निशालामै ल्याउने चलन रहेको पाइन्छ ।

अग्निशाला जान मङ्गलबजारबाट दक्षिणपश्चिम १०० देखि १५० मिटरभित्र वा पुल्चोक अनि गाःबहाल सडक भएर या जावलाखेल पूर्णचण्डी भएर तथा कुमारीपाटीबाट लगभग २०० मिटरभित्र गएपछि पुगिने स्थानीयवासी राजु शर्माले बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *