चिसोका कारण तराईमा चारको मृत्यु

काठमाडौं । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नम्बर २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ ।

केही दिनयता मौसममा अप्रतयासित रुपमा परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नम्बर २ मा चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका बिल्टु महतो, बरियापुर–१ का प्रयागी देवी साह र मिर्चैया–७ का बालक जाबिर राइनको मृत्यु भएको छ ।

प्रदेश नम्बर २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १२७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

सबैभन्दा बढी अति विपन्न तथा गरिब परिवारलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्न विभिन्न दातृ निकायको सहयोगमा कम्बल वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *