माग र आपूर्तिका आधारमा विद्युत् उपलब्ध गराउन प्राधिकरण प्रतिवद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

उपभोक्ताले दैनिकरुपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, “प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ ।”

कर्णालीका कालीकोट, हुम्ला र मुगुमा चालू आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने गरी काम गरिरहेका प्राधिकरणको भनाइ छ । कर्णाली प्रदेशका कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगुमा राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत् पुर्याउन दैलेखबाट कालीकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ ।

प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ । राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले एउटा समूहबाट दैनिक सात र अर्कोबाट साढे सात घण्टा विद्युत् आपूर्ति हुने गरी नयाँ तालिका तय गरेको जनाएको छ ।

प्राधिकरणले ११०/११० किलोवाट जडित क्षमता भएका दुईवटा युनिट रहेको लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी जुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । हिउँदमा खोलामा पानी घट्ने भएकाले हाल आयोजनाबाट १३० देखि १४५ किलोवाटसम्म मात्रै विद्युत् उत्पादन हुन्छ ।

हरेक दिन राति २ बजेबाट बिहान ५ बजेसम्म विद्युत् उत्पादन बन्द गरी पानी जम्मा गरिन्छ । त्यसरी जम्मा भएको पानीबाट बिहान विद्युत्गृह सञ्चालन गरी विद्युत् आपूर्ति गरिन्छ । फेरि बिहान ८ देखि १० बजेसम्म विद्युतगृह बन्द गरिन्छ । जम्मा भएको पानीबाट १० बजेपछि ४ बजेसम्म विद्युत् उत्पादन गरी आपूर्ति गरिन्छ । साँझ विद्युत् आपूर्तिका लागि विद्युत्गृह फेरि दिउँसो ४ देखि साँझ ६ बजेसम्म बन्द गरिन्छ । ६ बजेपछि विद्युत्गृह सञ्चालन गरी राति २ बजेसम्म विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *