काठमाडौँ–ढाका बस तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने

काठमाडौं । बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताएका छन् । नेपाल बङ्गलादेश मैत्री सङ्घको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उनले काठमाडौँ– ढाका बस सेवा तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने जानकारी दिए ।

बङ्गलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिए ।

प्रा डा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गरे । डा इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताए । डा के शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल र सङ्घका बङ्गलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिए । सङ्घका सल्लाहकार धर्मराज बरालले एकार्काले आआफ्ना धर्म, कला र संस्कृतिको सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *