वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पुर्याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई निरन्तर गति दिइरहेका बताएका छन् ।

भारतीय विश्व सम्बन्ध परिषद्ले शुक्रबार नयाँ दिल्लीमा आयोजना गरेको प्रवचनमा ज्ञवालीले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमाङ्कनको काम बाँकी रहेको यथार्थ सुनाउँदै त्यसको पूर्णताका निम्ति संवाद गर्न नेपाल तयार रहेको तथा निष्कर्षमा पुग्न विश्वास र दायित्वको दायरालाई विस्तारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालको बाह्य सम्बन्धका प्राथमिकता आफ्ना अन्तर्राष्ट्रिय सिमानाबाट प्रारम्भ हुने तथा भारतसँगको सम्बन्धको आधारशिलालाई अझ मजबुत तुल्याउने स्पष्ट लक्ष्य र उद्देश्य रहेको उनले बताए । राजनीतिक एवं आर्थिक सामथ्र्यले विश्वशक्ति राष्ट्रका रुपमा अघि बढेको भारतले गरेको उल्लेखनीय प्रगतिबाट नेपाल हर्षित रहेको तथा दुवै देशका आ–आफ्नै आकांक्षा रहेका बताउँदै मन्त्री ज्ञवालीले स्थिर र समृद्ध नेपाल निर्माण नै तीन करोड नेपालीको अभिलाषा रहेको प्रष्ट्याए ।

कोभिड–१९ विरुद्धको खोप सफलतापूर्वक विकास गरेकामा भारतका वैज्ञानिक, शोध एवं अनुसन्धान केन्द्र, नवप्रवर्तक कम्पनीप्रति बधाई ज्ञापन गर्दै उनले छिमेकीका नाताले नेपाललाई पनि खोप प्राप्त हुने आशा व्यक्त गरे ।

सार्वभौमिक समानताका सिद्धान्त, पारस्परिक सम्मान र अहस्तक्षेप नेपाल र नेपालीका निम्ति राष्ट्रिय गौरवका अतिमूल्यवान मान्यता हुन् भन्दै उनले कसैप्रति दुराशय नराख्ने र सबैप्रति मैत्री कायम गर्ने नेपालको उद्देश्य भएको बताए ।

तीनवर्षअघि नयाँदिल्लीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्धलाई समानता, पारस्परिक सम्मान, न्याय, समझदारी, एक–अर्काका चासो र संवेदनशीलताका सबल आधारमामा स्थापित एक्काइशौँ शताब्दी सुहाउँदो अग्रगामी बनाउन चाहेको नेपालको अभिव्यक्ति स्मरण गराउँदै मन्त्री ज्ञवालीले सुदृढ आधारस्तम्भमा रहेको द्विदेशीय मैत्रीलाई अझ घनिभूत तुल्याउन सावधानीपूर्वक अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्धका सबै पक्षको समीक्षा गरी त्यसलाई अझ उन्नत बनाउने सुझाव पेश गर्ने कार्यादेशयुक्त प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन स्वीकार गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने खाँचो मन्त्री ज्ञवालीले औँल्याए।

नेपालमा जलविद्युत् विकासका अपार संभावनाको चर्चा गर्दै उनले पञ्चेश्वर बहुद्देशीय परियोजना, स्वतन्त्र विद्युत् व्यापार, जल र रेलमार्ग, अन्तरदेशीय यातायात, पारबहनलगायत सम्पर्क सञ्जाल विस्तार तथा भारतसँगको व्यापार असन्तुलन घटाउन नेपालको प्रयासमा भारतसहितका नेपालको विकासका साझेदारबाट पूर्वाधार निर्माणमा लगानीका प्रशस्त अवसर रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *