प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण र महासचिव पौडेललाई कारबाही गर्ने प्रचण्ड-नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मालाई स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटीको बैठकले पार्टी हित विपरीत काम गरेकाले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले महासचिव विष्णु पौडेलले पनि पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गर्ने निर्णय गरेको नेता डा. भीम रावलले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध माघ १६ गते हुने काठमाडौं केन्द्रित प्रदर्शनलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त सांगठनिक संरचनालाई पूर्णता दिने निर्णय गरेको छ ।

त्यस्तै भारतीय टेलिभिजन च्यानल जीन्यूजका सम्पादक सुधीर चौधरीलाई अन्तरवार्ताका लागि बोलाएर बिना अनुमति सगरमाथाको आधार शिविर जान दिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीप्रति खेद प्रकट गरेको छ ।

कृषिमा विदेशी लगानी भित्राउने निर्णय नेपाली किसानमारा भएको भन्दै बैठकले तत्काल फिर्ता लिन माग गरेको छ । सरकारी संचारमाध्यमको दुरुपयोग गरेकोमा विरोध गर्दै सरकारी संचारमाध्यमलाई स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न दिन बैठकले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *