तेल चोरीबाट नेपाललाई क्षति नभएको निगमद्वारा स्पष्ट

काठमाडौं । नेपाल आयल निगमले भारतमा भएको तेल चोरीले नेपाललाई कुनै क्षति नहुने स्पष्ट पारेको छ । शुक्रबार विज्ञप्ति जारी गरी निगमले चोरीको कारण कुनै ठूलो परिमाणमा क्षति नभएको जानकारी प्राप्त भएको जानकारी दिएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन फुटाएर डिजेल चोरी भएको सञ्चारमाध्यममा खबर सार्वजनिक भएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘घटनास्थल नेपाल भारत सीमाको रक्सौल नाका (जहाँ अन्तरदेशीय पाइपलाईनको मिटर रहेको छ) देखि करिब १ सय किलोमिटर भारततर्फ रहेको हुँदा उक्त घटनाबाट नेपाल आयल निगमलाई कुनै क्षति भएको छैन ।’

हाल पाइपलाईनबाट नियमित रूपमा २ लाख ५० हजार लिटर प्रतिघण्टाका दरले डिजल आयात भइरहेको निगमले जानकारी दिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनअन्तर्गत बिहार प्रान्तको लकडी नबीगंज क्षेत्रको ड्रमरा गाउँको नजिक डिजल चोरी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *