इटालीमा सयौ माफिया विरुद्ध एकैचोटि मुद्धा

मिलान । इटालीको सबैभन्दा शक्तिशाली माफिया समुहका सयौं सदस्यले मुलुकको न्यायालयको सामना गर्न लागेका छन् । यसलाई इटालीको अहिले सम्मकै सबैभन्दा ठूलो संगठित अपराध बिरुद्ध मुद्धा मानिएको छ । ड्रान्घेटा नामक सो माफिया समुह माथि गरिएको लामो अनुसन्धानपछि आशंकित ३ सय ५५ जना माफिया सदस्य तथा भ्रष्ट सरकारी अधिकारी माथि मुद्धा चलाइएको हो ।
तिनीहरु माथि लगाइएको हत्या , लागू औषध ओसार प्रसार , जवर्जस्ती रकम असुली र मुद्रा अपचलन जस्ता मुद्धाका सिलसिलामा ९ सय जना भन्दा बढी साक्षीले प्रमाण पेश गर्ने आशा गरिएको छ । बुधवार देखि शुरु भएको मुद्धा दुई वर्ष भन्दा बढी लम्बिन सक्ने बताइएको छ । ड्रान्घेटा समूहको विशेष पकड भएको मानिने इटालीको दक्षिणी क्षेत्रको क्यालाव्रिया स्थित विशेष किसिमले बनाइएको भवनमा यो मुद्धा चलाइएको छ ।
कुनै समय लामेजिया टर्मे शहरको कल सेन्टरको रुपमा रहेको यस भवनलाई कानुनी कारवाही बढाउन सयौं व्यक्ति अटाउने सुरक्षित अदालतमा परिणत गरिएको छ । असीको दशक यता इटालीमा यति ठूलो संख्यामा माफियाका सदस्यहरुलाई मुद्धा चलाइएको यो पहिलो पटक हो ।
यस अघि सन् १९८६ देखि १९९२ सम्म चलाइएको मुद्धा सिसिलीका थुप्रै संगठित अपराधसंग जोडिएका परिवार माथि केन्दि«त रहेको थियो । तर यो मुद्धा भने ड्रान्घेटा माफिया संचालन गर्ने एउटै समुह अर्थात परिवार मान्कुसो माथि लक्षित रहेको छ । यस कुख्यात माफियाको कारोवार विशेषगरी क्यालाव्रियनको भिवो भ्यालेन्सिया प्रान्तमा सक्रिय रहेको छ । माफिया सदस्यसंगै राजनीतिज्ञ , प्रहरी अधिकारी र सरकारी कर्मचारीहरु विरुद्ध पनि मुद्धा शुरु गरिएको हो ।
यस माफिया समुहका बोस ६६ वर्षिय लुइगी मान्कुसो उर्फ ‘ दि अन्कल ’ हुन् । अन्य महत्वपूर्ण कुख्यात अपराधीमा ‘ दि वुल्फ ’ , ‘ फ्याटी ’ र ‘ ब्लोन्डी ’ उपनामका व्यक्ति रहेका छन् । मुद्धा चलाईनेमा इटालीका पुर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको फोर्जा इटालीया पार्टीको पूर्व सिनेटर तथा पेशाले वकिल गियानकार्लो पिटेल्ली पनि रहेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *