प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएकाले सर्वोच्चले अर्को पेसी शुक्रबारका लागि तोकेको हो ।

बुधबार भएको सुनुवाइमा महान्यायाधिवक्ता अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, रमणकुमार श्रेष्ठ, हरि उप्रेती, दिनेश त्रिपाठी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापाले बहस गरेका थिए ।

रिट निवेदकतर्फका उनीहरुले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेका थिए। उनीहरुले पाँच न्यायाधीशले मात्र न्याय निरुपण गर्न कठिन हुने भएकाले बृहत् पूर्ण इजलास राखी विगतमा जस्तै कम्तीमा ११ जना न्यायाधीशमार्फत सुनुवाइ र फैसला गर्नुपर्ने माग गरेका छन् ।

सो सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारका प्रमुख कानूनी सल्लाहकारको धारणा बुझ्न खोज्दा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहत् पूर्ण इजलासप्रति सहमति नभएको स्पष्ट गरे ।

बुधबारको संवैधानिक इजलासमा सपना प्रधान मल्ल बाहेकका न्यायाधीश यसअघिकै दोहोरिएका थिए । हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आएकी हुन् । प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरासहित विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी यसअघि पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *