संवैधानिक निकायले ओलीले जस्तै संविधान र नियम कानुन बाहिर गएर काम गरे आँधी हुरी सृजना हुन्छः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि छुरा रोपे जस्तै संवैधानिक निकायले पनि संविधान र नियम कानुन बाहिर गएर काम गरे आँधी हुरी सृजना गर्ने चेतावनी दिएका छन् ।

प्रचण्ड नेपाल-समूहको काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूलाई अदालत र संवैधानिक निकायमाथि भरोसा रहेको बताए । तर ओलीले जस्तो जथाभावी गएर काम गरे जनताले नछाड्ने चेतावनी दिए ।

उनले भने,‘ हामीले निर्वाचन आयोगका पदाधिकारीलाई भन्यौं ४४१ जनाको केन्द्रीय समिति छ नेकपाको हामीसँग ७० प्रतिशत छ अनि ओलीजीलाई किन अध्यक्ष भनेको के हो यो ? जवाफमा उहाँहरुले नियम र विधान भन्दा बाहिर गएर केही गर्दैनौं भन्नु भएको छ । हामीलाई विश्वास छ आयोगले विधान र ऐन नियम बाहिर गएर निर्णय गर्ने छैन । आयोगले दल सम्बन्धी ऐनमा पचास प्लस जोसँग केन्द्रीय समिति हुन्छ त्यो नै पार्टी हुन्छ भनेको छ । तपाइँहरुलाई विश्वास दिलाउँछु निर्वाचन आयोगले ऐन बाहिर गएर निर्णय गर्ने छैन । नाम र पार्टी हाम्रौ हुन्छ । यदि त्यसो भएन भने आँधी हुरी ल्याइने छ । ओलीले संविधानमाथि छुरा रोपेजस्तै संवैधानिक निकायले त्यस्तै गरेभने आँधी हुरी आउँछ आउँछ ।’

अध्यक्ष प्रचण्डले आफूहरु उखान टुक्का भनेर कमेडियनको रुपमा जनता हसाउन नआएको बताए । उनले आफूहरु राष्ट्रमा आइपरेको संकटलाई बाहिर निकाल्नेबारेमा विचार विमर्श गर्न आएको बताए ।

उनले ओलीका अभियव्यक्ति विक्षिप्तताको मानसिकताको उपज भएको बताए । उनले भने, ‘ ओलीजीका अभिव्यक्ति विक्षिप्त मानसिकताको उपज हो । पोलिटिकल जोक्कर जस्तो लाग्छ उहाँलाई देख्दा । ४४१ जनाको केन्द्रीय समितिलाई ११९९ सदस्यीय बनाएको  विक्षिप्त मानसिकता नभएर के हो । यो कस्तो प्रहसन हो ।’ उनले आफूहरुलाई भगौडा भनेको भन्दै आपत्ति जनाए ।

उनले भने, हामीलाई भगौडा भन्नु भएछ । सुन्न पनि के सुन्नु कान के थुन्नु, देखिन्छ आँखाले के आँखा थुन्नु । ७० प्रतिशत भएको चाहिँ भगौडा रे । ओलीको दिमागमा भन्दा अन्त यस्तो कही होला यस्तो ? बैठक राख्यो उनै नआउने अनि हामी भगौडा रे कस्तो लाज नलागेको । लाज घीन मान्छेमा हुनुपर्छ के । केपीजी त निर्घीणी के ।’

उनले केपी ओली अनेकौं बठ्याइँ गर्ने नेता भएको बताए । उनले भने, ‘ एक दिन विहान ११ बजे वामदेवलाई बोलाएर अबको प्रधानमन्त्री तपाईँ हो भन्नु भएछ । त्यही दिन एक बजे बोलाएर माधवजीलाई पनि तपाइँ नै हो प्रधानमन्त्री र अध्यक्ष पनि । अनि मलाई चार बजे बोलाएर एमालेभित्र कोही नभएर तपाइँलाई ल्याएको हो भन्नुभयो । कस्तो भन्न सकेको के ?’

अध्यक्ष प्रचण्डले उनले अहिले पार्टीले घेराबन्दी गरेर काम गर्न दिएनन् प्रधानमन्त्री ओली बोल्दै हिंडेको भन्दै आपत्ति जनाए । उनले भने, ‘घेराबन्दी गरेको प्रमाण दिनुस् मेरो चुनौति  ओलीजी तपाईँलाई । सक्नुहुन्छ ? कोभिडमा सबैलाई समेटौं र राष्ट्रिय अभियान संचालन गरौं भन्दा व्यंग्य गर्दै हिँडे । अझ उल्टो सामान खरिदमा भ्रष्टाचार भयो भनेर छताछुल्ल बाहिर आयो । अनि उहाँले काम गर्न दिएन भन्ने ? दुनियाँलाई दिउँसै रात पार्ने यो त जोकरले गर्ने कुरा हो ।’

उनले पार्टीले भनेको नगरेर उल्टो उल्टो काम गरेर यो स्थिति आएको बताए । उनले गत असारमा आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोज्यो भन्ने प्रधानमन्त्रीले अहिले बालुवाटारमा जीन्यूजको पत्रकार बोलाएर अन्तरवर्ता लिन बोलाएको के हो भन्दै प्रश्न गरे । उनले भने, ‘जीन्यूजको अन्तरवार्ता पनि ओलीको नाटक हो । अब सगरमाथाको नाम फेर्ने रे । असारमा भारतले हटाउन खोजेको भन्नुयभो । अहिले संसद भंग भारतले भनेर गरेको हो ?तपाईँ के भन्नु हुन्छ ? मैले भारतलाई केही भन्न खोजेको होइन है ओलीको अभिव्यक्तिलाई हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *