संसद भवन आक्रमणमा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान हुने

अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई) ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ । अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन् ।

वासिङ्टनस्थित संसद् भवन रहेको क्यापिटल भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हङ्गामा मच्चाएका थिए । त्यसक्रममा पाँचजनाको ज्यान गएको थियो । घटनामा संलग्न भएको आरोपमा १६० जनाभन्दा धेरैविरुद्ध फौजदारी अनुसन्धान सुरु गरिएको बताइएको छ ।

कोलम्बियाका कार्यवाहक महान्यायाधिवक्ता माइकल शेरवीनले उनीहरूविरुद्ध आक्रमण र विद्रोहको षड्यन्त्र लगायतका अभियोग लगाइन सक्ने जानकारी दिए । ती अभियोगमा २० वर्षसम्म जेल सजाय हुनसक्छ । अभियोग लगाइनेहरूको सङ्ख्या सैयौँ पुग्न सक्ने उनको भनाइ छ । अहिलेसम्म ७० जनालाई अभियोग लगाइसकिएको बताइएको छ ।

नागरिकहरूबाट प्रमाणको रूपमा घटनासँग सम्बन्धित करिब एक लाख डिजिटल अंशहरू प्राप्त गरेको बताउँदै वासिङ्टन डीसीस्थित एफबीआई कार्यालयका सहनिर्देशक स्टिभन डूआन्टानोले पनि अनुसन्धान र अभियोग दुवै सङ्ख्या बढ्ने ठानिएको जानकारी दिए।

एफबीआईले क्यापिट हिंसामा संलग्नलाई कानुन पालना गराउने निकायसमक्ष उपस्थित हुन आग्रह गरेको छ । सिनेटर चक सुमरले घटनाको दिन क्यापिटल भवनमा रहेकाहरूलाई हवाई यात्रा गर्न नपाउने राष्ट्रिय सूचीमा राख्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । उक्त घटनालाई प्रोत्साहित गरेको आरोप ट्रम्पमाथि लगाउँदै डेमोक्रेटहरूले उनलाई पदमुक्त गराउने प्रयास गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *