काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल छरिएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिएका छन् । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको मंगलबार श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै अर्थमन्त्रीले सो कुरा बताएका हुन् ।
बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै–थोरै पूँजी सङ्कलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमूना भएको उनले बताए । नौ क्षेत्रमा काम गर्ने गरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
जलविद्युत् आयोजनाको काम गुणस्तरीय र तीव्ररूपमा भइरहेको थाहा पाएको भन्दै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना पनि दिए।
सामूहिक लगानीमा निर्माण भइरहेको सेतीखोला जलविद्युत् आयोजनाका लागि सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।
भिजन लुम्बिनीले तीव्रगतिमा पारदर्शी, सुशासन र जवाफदेहितासहित सामूहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखिएकाले लगानी गरेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।
सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाइमा तीन बैंक तथा वित्तीय संस्थाले तीन अर्ब ५० करोड लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिए ।
एनएमबी बैंक एक्लैले आयोजनामा दुई अर्ब २० करोड लगानी गर्नेछ । यस्तै कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।
कूल पाँच अर्ब लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि चार किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेशनमा जोडिनेछ ।
विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको आह्वान
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विद्युत् खपत बढाउन सबैलाई आह्वान गरे । अहिले विद्युतको उत्पादन धेरै हँुदै गएकाले तत्काल विद्युत्को खपत बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, “पहिलोपटक ऊर्जामन्त्री हुँदा विद्युत्को अभाव हुने समस्या थियो, अहिले ऊर्जामन्त्री हुँदा विद्युत् धेरै हुने समस्या भएको छ, त्यसैले ऊर्जा खपत बढाउनुपर्ने भएको छ ।” आगामी भदौसम्ममा ५०० मेगावाट बिजुली खेर जाने गरी उत्पादन भइरहेको बताउँदै उनले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा बिक्रीका लागि गृहकार्य पनि भइरहेको जानकारी दिए ।
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गरेका छन् । उद्योगधन्दा राम्रोसँग सञ्चालन गरेकाहरुले देश पनि राम्रोसँग सञ्चालन गर्न सक्ने भन्दै उनले उद्योगी व्यवसायी पनि राजनीतिमा आए देश सफल हुने बताए ।
देशमा राजनीतिक अस्थिरता र धेरै आन्दोलन हुँदा उद्यमी लामो समयसम्म समस्यामा परे पनि अब राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाजनक अवस्था ल्याएको उनको भनाइ थियो ।
जलशक्ति र जनशक्तिमा नेपाल बलियो भएकाले जलशक्तिलाई उपयोग गर्न भिजन लुम्बिनीजस्ता सामूहिक कम्पनीहरुले ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे । काँग्रेस नेता खाँणले भिजन लुम्बिनीको सामूहिक पूँजी र एकीकृत प्रयास अनुकरणीय रहेको थाहा पाउँदा खुशी लागेको बताए ।