माघ १ बाट विद्यालय खोल्न अनुमति

काठमाडौं । राजधानी अधिकांस स्थानीय तहले विद्यालय खुला गर्ने निर्णय गरेपछि दबाबमा परेका काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने गरी विद्यालय खुला गर्न अनुमति दिएको छ ।
उपत्यकाका ललितपुर महानगरपालिकासहित सबै नगरपालिकाले विद्यालय खुला गर्ने निर्णय गरेपछि दबाबमा रहेको काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको हो ।
स्थानीय तहले विद्यालय खुला गर्ने निर्णय गरे पनि राजधानीका अधिकांश ठुला विद्यालय बन्द छन् । ती विद्यालयले अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित कक्षा सञ्चालन गरिरहेका छन् ।
वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको थियो । सोही आधारमा कामपाले विद्यालय खोल्न अनुमति दिएको हो ।
कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । कोभिडको नयाँ भाइरस देखा परेपछि विश्वभर सशंकित भइरहेको अहिलेको अवस्थामा विद्यालय खुला गर्ने विषय गम्भीर भएको अभिभावकको भनाइ छ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको अवस्थामा विद्यालय खोल्न नहुने जिकिर गरे । उनले भने–‘अबको एक महिनासम्म अनलाइन कक्षालाई नै निरन्तरता दिनुपर्छ । त्यसपछि अवस्थाको मूल्याङ्कन गरी विद्यालय खोल्न सकिन्छ ।’ विद्यालय खोल्दा कोरोना भाइरसको खतरा पुनः बढ्न सक्ने भन्दै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
‘अहिले त जाडोको बिदा दिने समय हो, अबको एक महिना बिदा दिआंै त्यसपछि नियमित कक्षा सञ्चालन गरांै’ –उनले भने । केही दिन कुरेर विद्यालय खोल्दा कुनै समस्या नहुने उनको जिकीर थियो ।
प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्काले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा विद्यालय खोल्न नसक्ने स्पष्ट पारे । ललितपुरका जेम्स स्कुलका सञ्चालकसमेत रहनुभएका खड्काले आफूले ‘रिक्स’ लिएर भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नसकिने बताए ।
उनले भने– ‘हामीले अभिभावकलाई सर्भे फारम भर्न पठाएका थियौ, ९० प्रतिशतले छोराछोरीलाई विद्यालय पठाउन नसकिने उल्लेख गरेका थिए । वैकल्पिक कक्षाबाट सन्तुष्ट रहेका अधिकांस अभिभावकले छोराछोरीलाई विद्यालय नपठाउने भनेपछि विद्यालयले जबरजस्ती गर्न मिल्दैन ।’
‘स्थानीय तहले विद्यालय खोल्न दबाब दिए विद्यालयले सबै अभिभावकलाई ‘इच्छापत्र’ पठाउने र सोही आधारमा अभिभावकको रिक्समा विद्यार्थीलाई पढाउन बोलाउने तयारी गरिरहेको उनको भनाइ थियो । नेपाल समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *